काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले (बिहीबार बिहान) देशका गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानमा हल्का देखि मध्यम वर्षा तथा बाँकी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।