बैतडी । सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मुख्य बजार पाटन नगरपालिका-८ खोडपेमा खानेपानीको चरम अभाव छ । पाँच दिनदेखि यहाँ खानेपानीको हाहाकार भएको हो ।
खानेपानीको आपूर्ति गर्ने सिद्धेश्वर खानेपानी योजनामामा समस्या आएपछि यहाँ खानेपानीको समस्या भएको हो । योजनाका सचिव मोहन बिष्टले लिफ्टिङ प्रणालीबाट सञ्चालन हुँदै आएको खानेपानी विद्युतको खराबीले अवरुद्ध भएको बताए ।
खानेपानीको हाहाकार भएपछि यहाँका होटेल व्यवसायी, कार्यालय, यात्रुलाई समेत समस्या हुने गरेको छ । होटेल व्यवसायी सन्तोष राईले खोनेपानीका कारण निकै समस्या भएको बताए । ‘खानेपानी नभएकै कारण चार दिनदेखि होटेलको व्यापार सुस्त छ’, उनले भने ।
पाटन नगरपालिका-८ का वडाध्यक्ष हरिश बिष्टले समस्या समाधानको लागि पहल भइरहेको बताए । उनले तत्कालका दमकलबाट खानेपानी वितरण गर्न थालेको जानकारी दिए ।
‘बजारमा खानेपानीको चरम अभाव भएपछि नगरपालिकाको दमकलबाट खानेपानी आपूर्ति गर्न थालेका छौँ’, उनले भने, ‘यसले केही राहत भएको छ ।’
विद्युत् वितरण केन्द्रको टोली आएर मर्मत गरिरहेकोले समस्या छिट्टै समाधान हुने उनले बताए ।