close

मङ्गला गाउँपालिकाको धार्मिक वन हस्तान्तरण

मङ्गला गाउँपालिकाको धार्मिक वन हस्तान्तरण

Trulli
ADVERTISEMENT

म्याग्दी । मङ्गला गाउँपालिका–५ अर्मनको पीपलबोटमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको छ ।

सार्वजनिक जग्गाको संरक्षण र वन विकासमार्फत पर्यटन विकास गर्ने उद्देश्यले पीपलबोटको कैलाशफाँटमा धार्मिक वन स्थापना गरिएको हो ।

१.०६५ हेक्टर क्षेत्रफलमा फैलिएको वन आइतबार समुदायलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय, म्याग्दीले जनाएको छ । 

कार्यालय प्रमुख मनोज रानाभाटले विश्व वातावरण दिवसको अवसरमा औपचारिक रुपमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको जानकारी दिए । “नापचाँज, क्षेत्रफल पहिचान, विधान, कार्ययोजना र समूह दर्तालगायत सबै प्रक्रिया पूरा गरेर हस्तान्तरण गरेका हौँ”, उहाँले भन्नुभयो, “वन विकास, जैविक विविधता र वातावरण संरक्षणसँगै धार्मिक पर्यटन विकास गर्ने उद्देश्यले धार्मिक वन बनाएका हौँ ।”

प्राचीन कालमा ऋषिमुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको कैलाशफाँटमा शिव मन्दिर रहेको छ । म्याग्दी नदी किनारको शिव मन्दिर परिसरको बगर र सार्वजनिक जग्गा संरक्षण गरेर वृक्षरोपण गरेर वन बनाइएको समूहका अध्यक्ष छविलाल कँडेलले बताए ।

वातावरण दिवसको अवसरमा वनमा १०८ पीपलका बिरुवा रोपिएको छ । घेराबार र संरक्षणका लागि डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा तीन लाख रुपैयाँ सहयोग गरेको छ । एकै ठाउँमा १०८ वटा पीपलको बिरुवा भएको ठाउँमा पूजाआजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । 

 यसअघि स्थानीयवासी १०८ पीपलको पूजा गर्न बागलुङको बलेवा पुग्ने गरेका थिए । कैलाशफाँट धार्मिक वन जिल्लाको दोस्रो हो । यसअघि बेनी नगरपालिका–३ भकिम्लीमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको थियो ।

म्याग्दी जिल्लाभर ३१८ सामुदायिक वन उपभोक्तालाई हस्तान्तरण गरिएको सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले बताए ।