काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले आफूले काठमाडौंको फोहोर व्यवस्थापन नगरी कुनै पनि खादा र उत्सव नमनाउने घोषणा गरेका छन् ।
सोमबार शपथ ग्रहणपश्चात् बसेको महानगरको कार्यपालिकाको बैठकमा महानगर प्रमुख बालेन शाहले सो घोषणा गरेका हुन् ।
महानगरबासीलाई धन्यवाद दिएर आफ्नो भनाइ सुरु गरेका महानगर प्रमुखले पहिलो कार्यकारी बैठकमा पदबहाली गर्नुभन्दा पहिला आफू बन्चरे डाँडा घुम्न गएको बताउँदै त्यहाँका बासिन्दामा छाला र क्यान्सरका रोगी भएको बताए ।
काठमाडौं महानगरको फोहोर थुपारेको स्थानलाई मन्दिरको संज्ञा दिँदै उनले भने, ‘ सबै पीडा र असहज सहेर बस्ने स्थानीयहरूलाई हामीले हृदयदेखि नै धन्यवाद दिनुपर्छ ।’
यस्तै, उनले भौतिक पूर्वााधर एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव गरेका छन् । साहले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम तत्काल गर्न २ वटा भौतिक पूर्वााधर एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राखे ।
उनले भने, ‘जनताले समस्या छ भनेर कल सेन्टरमा खबर गरेपछि तत्काल रेस्पोन्स गर्नुपर्छ ।’
रेष्टुरेन्टहरुमा निःशुल्क शौचालय प्रयोग गर्न दिने प्रस्ताव पनि अघि सारेका छन् । यसका लागि केही चेन रेष्टुरेन्टसँग कुराकानीसमेत भएको मेयर शाहले बताए ।
नागरिकको गुनासो सुन्नका लागि कल सेन्टर सञ्चालनमा ल्याउने उनले बताए ।