जुम्ला । कृषकलाई रोगमुक्त कालीमार्सी धानको बिउ वितरण गरिएको छ ।
कृषि अनुसन्धान केन्द्र जुम्लाले पातारासी गाउँपालिका – ३ छुमचौर ज्यूलोमा बलाष्ट रोगमुक्त सुधारिएको जुम्ली कालीमार्सी धान बिउ (बेर्ना) रोपाइ दिवसको अवसरमा वितरण गरिएको हो ।
लामो समय कृषि अनुसन्धान केन्द्र जुम्लाले आफैँ अनुसन्धान गरी यस वर्षदेखि कृषकसम्म पुर्याउनका लागि छुमचौर ज्युलोमा रोगमुक्त सुधारिएको जुम्लीमार्सी धानको बिउ रोपिएको हो ।
यो छुमचौर ज्यूलो विश्वकै अग्लो स्थाल २८५० मिटर उचाइमा कालीमार्सी धान फल्ने स्थान हो ।
स्थानीय कमलसिंह बोहराले यसअघि धानमा रोग लाग्ने, उत्पादन नहुने र असिनापानीले क्षति गर्ने हुनाले धान रोप्न छाडिएको बताए ।
धान रोप्ने सिजन र यार्सा टिप्ने सिजन एउटै हुने हुनाले पनि धान रोप्न छोडिएको उनको भनाइ थियो ।
कृषि अनुसन्धान केन्द्र जुम्लाका वरिष्ठ कृषि विज्ञ रेशमबाबु अमगाईका अनुसार जुम्ली मार्सी बलाष्ट रोग संक्रमणले उत्पादनमा ह्रास आउने गरेको छ ।
समुद्री सतहदेखि २ हजार ८ सय ५० मिटर उचाइको जुम्लामा मात्रै फल्ने धान मानव स्वास्थ्यका लागि लाभदायक मानिने हुनाले केही समययता यो धान नेपाली बजारको आकर्षण बनेको छ ।
जुम्लामा यसको मूल्य १ सय ७० रुपैयाँ पर्ने हुनाले यो अरू चामलभन्दा महँगो छ । काली मार्सीको खाना, स्वाद, यसबाट प्राप्त हुने पौष्टिक तत्त्व र ऐतिहासिक वर्णन सामाजिक सञ्जाल पनि उत्तिकै महत्त्व छ ।
काली मार्सी धानमा प्रोटिन एवं सूक्ष्म तत्त्व आइरन, फस्फोरस, पोलिफिनोल र एन्टिअक्सिडेन्ट धेरै मात्रामा पाइने गरेको कृषि अनुसन्धान केन्द्र जुम्लाका प्राविधिक अधिकृत हरिनारायण मण्डलले बताए ।
‘जुम्ली मार्सीमा पाइने पोलिफेनोल र फ्ल्यावोन्वाइडले मानव तन्तुलाई सक्रिय बनाउँछ,’ उनले भने, ‘यसैले यो धानले मानव तन्तुलाई नष्ट हुनबाट जोगाउँछ ।’
जुम्ली मार्सीको इतिहास
चन्दननाथ बाबाको तत्कालीन तपस्या र हालको अनुसन्धानबाट यसको प्रतिपादन भएको संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्य बताउँछन् ।
‘केहीले इतिहासलाई तोडमोड गरेर कालीमार्सी धान भारतको कास्मिरबाट ल्याइएको भनेका छन् । यो नितान्त गलत हो,’ आचार्यले भने, ‘गुरु चन्दननाथ बाबाको आफ्नै तपस्या र खोजबाट यसको जुम्लामै उत्पादन भएको हो ।’
यसबारे इतिहासकार राजाराम सुवेदीले ‘जुम्लाको मध्यकालीन इतिहास’ मा चन्दननाथ बाबाले १४५० तिर जुम्ला राज्य खडा गर्दा तत्कालीन राजा बलिराज शाहीलाई यही कालीमार्सी धानको चामलले राजतिलक (टीका लगाएको) उल्लेख गरिएको उनले बताए ।
उनी भन्छन्, ‘साके संवत् १५१५ मा हरिदास विद्वान्ले लेखेको ५० श्लोकको ‘सिद्ध पञ्चाशती’ मा पनि काली मार्सी धान जुम्लामा उत्पादन भएको उल्लेख छ । ’
किंवदन्ती अनुसारपछि गुरु चन्दननाथ बाबाको उपदेश लिएर लक्षालकृति पैकलाले तातोपानीको गुरु फोक्टोबाट काली मार्सी धानको सुरुआत गरिएको र त्यो पछि साविकको कर्णालीका अन्य जिल्लामा पनि फैलिएको कथन ऐतिहासिक लेखमा पाइन्छ ।’
यसको उत्पत्ति गरिब ५५० वर्ष पहिले भएको जनाउँदै संस्कृतिसम्बन्धी जानकार आचार्यले ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक र भौगोलिक परिचय बोकेको साथै उत्पत्तिको लामो कालखण्ड पार गरेको काली मार्सी धानको स्वामित्वको अधिकार ‘प्याटेन्ट राइट’ आजसम्म पनि कायम हुन नसक्नु दुःखद भएको उनको प्रतिक्रिया छ ।
पछिल्लो समय जुम्लामा रैथाने अन्नबाली उत्पादनका लागि सबै तह लाग्न थालेका छन् । जलवायु परिवर्तन र पछिल्लो समय विभिन्न विषादी प्रयोगले यसको अस्तित्व संकटमा पर्न थालेको छ ।