चितवन । भरतपुरमा छुरा प्रहारबाट एक युवकको हत्या भएकाे छ ।
भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरिएको हो । भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ करिब साढे ७ बजेतिर परियारलाई अज्ञात समूहले छुरा हानेको हो ।
छुरा लागेपछि घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार परियारका १० भन्दा बढी ठाउँमा छुरा हानिएको छ । ‘घुँडाबाट माथि जताततै छुरा हानिएको छ । १० भन्दा बढी ठाउँमा छुरा हानिएको देखिन्छ’, स्रोतले भन्यो ।
छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको अधिकारीले जानकारी दिए । परियार गत वर्ष मात्रै चितवन कारागारमा एक वर्ष कैद सजाय भुक्तान गरेर रिहा भएका थिए ।