close

कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा : मुख्यमन्त्री पोखरेल

कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा : मुख्यमन्त्री पोखरेल

Trulli
ADVERTISEMENT

स्याङ्जा–गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक महत्त्व बोकेको कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताएका छन् ।

 

स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ८ खोरियाघाटमा जगद्गुरु अनन्तश्री विभूषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा जगद्गुरु श्री निम्बार्काचार्य भगवान्, वीरचित वेदान्त दशश्लोकीमाथि दार्शनिक प्रवचन दिँदै पोखरेलले यसका लागि युनेस्कोसँग समन्वय गरिएको जानकारी दिए । 

 

रामदी नजिकै डाइभर्सन बनाएर कालीगण्डकीको पानी तिनाउमा मिसाउन संघ सरकारको आयोजना कुनै हालतमा सम्पन्न हुन नदिने उनले प्रतिबद्धता जनाए । उनले भने, ‘कालीगण्डकी नदी अन्य नदीजस्तो होइन, यसको छुट्टै महत्त्व र विशेषता छ, कालीगण्डकी हाम्रो सभ्यता, आस्था, भावना र शालिग्रामसँग जोडिएको छ ।’ 

 

विश्व इतिहासको अध्ययन गरिरहेका पश्चिमाहरूले समेत अहिले शालिग्रामलाई आधार मानेर अनुसन्धान गरिहेको उनले सुनाए । गण्डकी प्रदेशसभामा यसअघि कांग्रेस प्रतिपक्षमा रहँदा पनि डाइभर्सनको विरोधमा आवाज उठाएको स्मरण गर्दै अहिले सरकारमा रहँदा पनि सशक्त विरोध गरिरहेको उनको भनाइ छ । 

 

कालीगण्डकी डाइभर्सनका लागि बुटवलमा कार्यालय खोलेपछि गण्डकी प्रदेश सरकारले बृहत भेला डाकेर प्रदेशको साझा धारणासमेत गत असारमा सार्वजनिक गरिसकेको छ । त्यसलगत्तै सरकारले कालीगण्डकीको धार्मिक, सांस्कृतिक, सामाजिकका साथै आर्थिक महत्त्व र सम्भाव्यताबारे अध्ययन गर्न समिति गठन गरेको छ । 

 

प्रदेश नीति तथा योजना आयोगको सदस्य डा. सुवास अधिकारी संयोजक रहेको टोलीले अब केही दिनमा अन्तिम प्रतिवेदन बुझाउने मुख्यमन्त्री पोखरेलले बताए ।गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन रहेकाले यसमा धार्मिक पर्यटन महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

 

दक्षिणको गजेन्द्रमोक्ष धामदेखि उत्तर दामोदरकुण्डसम्मका तीर्थस्थललाई धार्मिक करिडोरमार्फत जोडेर लैजानुपर्ने उनको धारणा छ । स्याङ्जाको चापाकोटमा पहिलो पटक पुगेका मुख्यमन्त्री पोखरेलले चापाकोट मात्र नभएर कालीगण्डकी उपत्यकाको समग्र विकासका लागि एकीकृत योजना ल्याउने प्रतिबद्धता जनाए ।

 

स्थानीयको माग सम्बोधन गर्दै उनले चापाकोट र पाल्पाको रामपुर जोड्ने पक्की पुलका साथै ज्याग्दी खोलामा समेत पुल निर्माण योजना आगामी बजेटमा समावेश गरिने प्रतिबद्धता जनाए । 

 

कार्यक्रममा गण्डकी प्रदेशसभामा कांग्रेसका सचेतक भागवतप्रकाश मल्लले चापाकोट र आसपासका क्षेत्रको विकासका लागि आफूले हरसम्भव प्रयास गर्दै आएको बताए । आफ्नो निर्वाचन क्षेत्रका २६ वटै वडामा समानुपातिक रूपमा योजना परेकाले चुनावमा प्रतिबद्धता जनाएअनुसारका वाचा पूरा गरेरै छाड्ने दाबी गरे । 

 

चापाकोट नगरपालिकाका नगरप्रमुख शिव गिरीले झन्डै ५ वर्षको अवधिमा स्थानीय सरकारले नगरपालिकको मुहार फेर्ने काम गरेको बताए । कार्यक्रममा नगर उपप्रमुख विमला श्रेष्ठ, कांग्रेस स्याङ्जा सचिव गुरुप्रसाद भट्टराई, मन्दिर व्यवस्थापन समिति अध्यक्ष भोजराज भण्डारीलगायतले विकास निर्माणको आवश्यकताबारे आ–आप्mना भनाइ राखेका थिए ।