काठमाडौं– भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले काठमाडौंको कीर्तिपुरस्थित गाउँ ब्लकमा रहेका भूमिविहीनलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेकी छन् ।
कीर्तिपुर नगरपालिका वडा नम्बर ५ पागामा गाउँ ब्लकका ३२ घरपरिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र प्रदान गर्दै मन्त्री श्रेष्ठले आउँदो १५ चैतभित्र थप पाँच जिल्लामा रहेको गाउँ ब्लकमा लालपुूर्जा वितरण गर्ने गरी तयारी भइरहेको जानकारी दिइन् । उनले आगामी आर्थिक वर्षभित्र देशभरका सबै गाउँ ब्लकमा लालपुर्जा वितरण गर्ने गरी कार्यक्रम र बजेट व्यवस्था गर्न लागिएको बताइन् ।
मन्त्री श्रेष्ठले लेखेर र भाषण गरेर मात्रै नागरिकले अधिकार प्राप्त गर्न नसक्ने भन्दै इमानदार भएर जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई आग्रह गरिन् ।
राज्यबाट प्रदान गरिएको सुविधा प्राप्त गर्न नसकेका तथा दुःखमा परेका जनतालाई राहत प्रदान गर्ने कार्यमा अगुवाइ गर्न पनि स्थानीय तहका पदाधिकारीलाई उनले सुझाव दिइन् ।
संविधानमा भएको व्यवस्थाअनुसार भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत काम अगाडि बढाइएको मन्त्री श्रेष्ठको भनाइ छ । जिल्ला आयोग गठनको काम भइरहेको उनले बताइन् ।
विशेषगरी काडमाडौं उपत्यका र देशका विभिन्न भागमा रहेका स्वबासी र बेनिसाको समस्या समाधान गर्न प्रक्रिया सुरु गरिसकेको भन्दै मन्त्री श्रेष्ठले मुक्त कमैया, कमलरी, हरूवा–चरुवाको समस्या समाधान गर्न अध्ययन समिति बनाएर काम गरिरहेको जानकारी दिइन् ।
मन्त्री श्रेष्ठले संविधानमा भएको रोजगारी हकको कार्यान्वयनका लागि सहिद, बेपत्ता परिवारका छोराछोरी, हरूवा–चरवा र वादी समुदायका युवा तथा तिनका सन्तानलाई विशेष नापीको तालिम दिएर रोजगारी दिलाउने प्रक्रिया अगाडि बढाइसकेको बताइन् ।
आफूले मन्त्रालय सम्हालेपछि हालसम्म गाउँ ब्लकका करिब १५ हजार घरपरिवारलाई लालपुर्जा वितरण गरिएको उनको भनाइ छ । २०२१ यता जग्गाको नापी हुँदा गाउँ ब्लकका रूपमा राखिएका र जग्गा भएर पनि लालपुर्जाविहीन बनिरहेकालाई लालपुुर्जा वितरण अभियान तीव्र पारिएको छ ।
मन्त्री श्रेष्ठले यसअघि महोत्तरी, सप्तरी, धनुुषा, सुनसरी र चितवनका विभिन्न गाउँब्लकमा रहेका भूूमिविहीनलाई लालपुर्जा वितरण गरिसकेकी छन् ।