close

सञ्चारमाध्यममा महिलाको सङ्ख्यात्मक एवं गुणात्मक अवस्था सुधार्नुपर्ने

सञ्चारमाध्यममा महिलाको सङ्ख्यात्मक एवं गुणात्मक अवस्था सुधार्नुपर्ने

Trulli
ADVERTISEMENT

गण्डकी– सञ्चारमाध्यममा महिलाको सङ्ख्या अझै कमजोर रहेकाले उनीहरूको उपस्थितीका लागि विशेष पहल गर्नुपर्नेमा जोड दिइएको छ । ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा मंगलबार आयोजित ‘मिडियामा महिला’ विषयक अन्तक्र्रियाकामा राज्यको चौथो अङ्गको रूपमा रहेको मिडिया क्षेत्रमा समेत महिलाप्रति विभेद तथा हिंसा हुने गरेको उनीहरूले बताए । सञ्चारमाध्यममा महिलाको अवस्था गुणात्मक एवं सङ्ख्यात्मकरूपमा कमजोर रहनु गम्भीर विषय भएको भन्दै त्यसतर्फ पत्रकारसँग सम्बद्ध संस्थाले पहल गर्नुपर्नेमा उनीहरूको जोड थियो । 

 

गण्डकी प्रदेश स्वास्थ्यमन्त्री मधुमाया अधिकारीले महिलालाई आर्थिक, राजनीतिक र सामाजिकरूपमा पछि पारिएको बताइन् । संविधानले दिएको अधिकारको कार्यान्वयन गर्नेतर्फ उन्मुख हुनुपर्नेमा उनले जोड दिइन् ।  

 

नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष सुरेश आचार्यले राजनीतिक अस्थिरताका कारण महिलासम्बन्धी समाचार सञ्चारमाध्यमले स्थान दिन नसकेको बताए । सञ्चारमाध्यमले ठीक ढङ्गले महिलाको विषय उठाउनुपर्नेमा उनले जोड दिए । महासङ्घका अर्का पूर्वअध्यक्ष धर्मेन्द्र झाले महिला विभेद र हिंसाको अन्त्य गर्न महिला र पुरुष दुवै लाग्नुपर्नेमा जोड दिए ।

 

राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक एकराज पाठकले महिला स्वयम् जागरुक बन्नुपर्ने बताउँदै कुनै पनि स्थानमा सहभागितामात्र भन्दा पनि नेतृत्वमा आउने गरी क्षमता विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।

 

आचारसंहिता पालनामा जोड

 

आजै पोखरामा क्रियाशील पत्रकारका लागि आचारसंहिता विषयक तालिम प्रदान गरिएको छ । तुलसादेवी हरिहर फाउन्डेसनद्वारा आयोजित तालिममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षद्वय आचार्य र झा तथा राससका प्रधानसम्पादक पाठकले प्रशिक्षण दिए । उनीहरूले प्रत्येक सञ्चारकर्मीले आचारसंहिताको पालना गर्दै पत्रकारले आफूलाई जिम्मेवार तथा विश्वसनीय बनाउन सके समग्र पत्रकारिता क्षेत्रको महिमा र गरिमा अझै बढ्ने विश्वास व्यक्त गरे ।