close

ढोरपाटनमा नेपाल टेलिकमको फोरजी सेवा 

ढोरपाटनमा नेपाल टेलिकमको फोरजी सेवा 

Trulli
ADVERTISEMENT

बागलुङ–नेपाल टेलिकमले बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा चौथो पुस्ताको फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । ०७५ वैशाखमा माइक्रोवेभ रेडियो लिंकमार्फत टुजी र थ्रीजी सेवा विस्तार गरेको टेलिकमले शनिबारदेखि फोरजी सेवा सुरु गरेको टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए । 

 

ढोरपाटन उपत्यका पर्यटकीय एवं धार्मिक महत्त्व बोकेको गन्तव्य भएकाले टेलिकमले उक्त क्षेत्रमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गरी उच्च गतिको इन्टरनेट र गुणस्तरीय एचडी कल सुविधाको भीओ एलटिईसहितको फोरजी सेवा सञ्चालनमा ल्याइएको उनले बताए । शर्माले भने, ‘भौगोलिक विकटता र दूरदराजमा रहेका नागरिक अनि त्यहाँ पुग्ने पर्यटकलाई लक्षित गरी यो सेवा सुरु गरेका हौँ । यसबाट स्थानीय र आन्तरिक तथा बाह्य पर्यटक लाभान्वित हुनेछन् ।’


 
यसअघि उक्त टावरमा विद्युत् नहुँदा सोलार सेटमार्फत टावर सञ्चालन हुँदै आएको थियो । सोही कारण हिमपात र राम्रोसँग घाम नलागेको समय नेटवर्क डिस्टर्व हुने समस्या थियो । अब विद्युत् जडान भएसँगै उक्त समस्या हटेको छ ।

 

ढोरपाटन भुजीखोला लघु जलविद्युत् आयोजनासँगको समन्वय, जनप्रतिनिधि, नेपाली सेना र स्थानीयको सहयोगमा नेपाने डाँडामा विद्युत् सेवा पु¥याइएको छ । विद्युत्का लागि टेलिकमले समेत बजेट व्यवस्थापन गरेको थियो । 

 

बागलुङ सदमुकामदेखि १२४ किलोमिटर पश्चिममा अवस्थित ढोरपाटन नगरपालिका वडा नम्बर ९ नेपाने डाँडामा २५ मिटर अग्लो स्थायी संरचनासहितको टावर निर्माण गरी सेवा प्रवाह गरेको टेलिकमले जनाएको छ । 

 

फोरजी सेवा सञ्चालनमा आएसँगै ढोरपाटन नगरपालिका वडा नम्बर ९ का फल्लेघर, पाखाथर, छ्यान्तुङ गुम्बा, उत्तरगंगा, बिजौरी खोला, गहुँखेत, नविगाउँ, भण्डारी गाउँसँगै ढोरपाटन उपत्यकाका झन्डै ३ हजार घरधुरी र त्यहाँ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक प्रत्यक्ष लाभान्वित भएको आयोजनाका अध्यक्ष चुनाबहादुर घर्ती मगरले बताए । 

 

समुद्र सतहदेखि ३ हजार २ सय मिटरको उचाइमा अवस्थित पर्यटकीय स्थल ढोरपाटन उपत्यकामा मोबाइल सेवा सञ्चालनका लागि ढोरपाटन नगरपालिका वडा नम्बर ८ को बोबाङमा रिपिटर स्टेसन राखी माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा सञ्चालन गरिएको छ । कपिलवस्तुको सालझन्डीदेखि ढोरपाटनसम्मको सडकअन्तर्गत बोबाङदेखि ढोरपाटन उपत्यका र ढोरपाटन सिकार आरक्षसम्मका भू–भागमा मोबाइल सेवा पुगेको ढोरपाटन वडा नम्बर ९ का वडाध्यक्ष हरिबहादुर घर्तीले बताए । 

 

यसअघि टेलिकमले उक्त स्थानमा ०६३ देखि पुरानो भिस्याट प्रविधि प्रयोग गरी तार लाइन टेलिफोन, सिडिएमए सेवा र जिएसएम टुजी सेवा सञ्चालन गरेको थियो । भिस्याट प्रविधिमा भ्वाइसमा सीमित क्षमता र डेटा चलाउन नमिल्ने भएकाले ढोरपाटनबासी र त्यहाँ पुग्ने पर्यटकले सञ्चार सेवा सहजै उपभोग गर्न पाएका थिएनन् । 

 

फोरजी मोबाइल सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरीय भ्वाइस तथा मोबाइल डेटामार्फत इन्टरनेट चलाउन सहज भएको टेलिकमले बताएको छ ।  ढोरपाटन उपत्यका पर्यटकीय र शिकार आरक्षको हिसाबले महत्त्वपूर्ण मानिन्छ ।