काठमाडौं–युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवा सोचलाई सही ढंगले व्यवस्थापन गरी देश विकासमा लगाउनुपर्ने बताएका छन् । राष्ट्रिय युवा परिषदको ७औँ स्थापना दिवस अवसरमा सानोठिमी भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री गहतराजले देश निर्माणका लागि युवा व्यवस्थापन आवश्यक रहेकामा जोड दिए ।
परिषद्का अध्यक्षसमेत रहेका मन्त्री गहतराजले युवालाई असल कामका लागि मानसिक रूपमै तयार गर्नुपर्ने धारणा व्यक्त गरे । नेपालमा तीन थरीका युवा रहेको बताउँदै उनले भने, ‘एकथरी स्वदेशमै केही गरेर सफल भएका, अर्कोथरी विदेश गएर सीप सिकेर आएका र नेपालमै केही गर्न चाहने युवा छन भने स्वदेशमा केही गर्न नसकेर आफ्नै जीवनदेखि निराश भएका तेस्रो थरी युवा पनि समाजमा छन् ।’
युवालाई नेतृत्व तहमा पु¥याउने आधार तयार गर्न परिषद्ले विगतदेखि नै भूमिका खेल्दै आएको बताउँदै मन्त्री गहतराजले आदर्श जीवनका लागि युवा उमेरदेखि नै सद्कार्यको अभ्यास हुने खाले वातावरण तयार गर्ने दायित्व राज्यको भएको सुनाए । अब युवाले व्यवस्था परिवर्तनका लागि संघर्ष गर्नुपर्ने अवस्था नरहेकाले उद्यमशील कार्यमा ध्यान दिनसमेत मन्त्री गहतराजले आग्रह गरे ।
परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा युवा अभियन्ता तथा युथ भिजन २०२५ निर्माण कार्यदलका सदस्य प्रदीप परियारले युवाको अवस्था, चुनौती र अवसर विषयक कार्यपत्र पेस गरेका थिए । उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै विभिन्न वक्ताहरूले सुझाव दिए ।