दैलेख–दैलेखको भगवतीमाई गाउँपालिकाका सबै वडामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ । दुई वर्षअघि गाउँपालिकाको केन्द्र बेस्तडामा पुर्याइएको राष्ट्रिय प्रसारण लाइन पालिकाका ६ वटै वडामा जडान गरिसकिएको र त्यसको परीक्षण थालिएको पालिका अध्यक्ष दानबहादुर थापाले बताए ।
उनका अनुसार विद्युत् प्राधिकरण दैलेख वितरण केन्द्रले ठेक्कामार्फत गाउँपालिकाको वडा नम्बर १ हुलाक टाकुरासम्म राष्ट्रिय प्रसारण विस्तार गरेको र त्यहाँबाट पालिकाको केन्द्र बेस्तडा बजारसम्म पालिकाकै लगानीमा विद्युत् पोल विस्तार गरेपछि अहिले प्रत्येक वडामा बत्ती बल्न थालेको हो ।
गाउँपालिकामा रहेका ७ मध्ये ६ वटामा राष्ट्रिय प्रसारण लाइन जोडिएको र एक वडामा विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखमार्फत ठेक्का लगाएर काम भइरहेको अध्यक्ष थापाले बताए । सामुदायिक विद्युतीकरण र गाउँपालिकाको सह– लगानीमा ६ वटा वडा र विद्युत् प्राधिकरणको सहयोगमा राष्ट्रिय प्रसारण लाइन जडान गरिएको उनले जानकारी दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले पालिकाका सबै वडामा विद्युत् विस्तारको काम सकिएसँगै उपभोक्ताको मागअनुसार ट्रान्समिटर थप्ने र मिटर जडान गरिने बताए । उनले भने, ‘तत्कालका लागि २ हजार ५ सय मिटर ठेकेदारलाई बुझाउन ताकेता गरेका छौँ । आउनेबित्तिकै वितरण गर्छौं ।’ भगवतीमाई पालिकामा साना जलविद्युत् आयोजना निर्माण भए पनि बन्द हुँदा त्यस क्षेत्रका बासिन्दा लामो समयदेखि अन्धकारमा बस्न बाध्य थिए ।