close

हिमालयन हाइड्रो एक्स्पो हुँदै

हिमालयन हाइड्रो एक्स्पो हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं–आउँदो चैत तेस्रो साता राजधानीको भृकुटीमण्डपमा तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ सञ्चालन गरिने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) नेपाल र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा आगामी १८ देखि २० चैतसम्म हिमालयन हाइड्रो एक्स्पो २०२२ सञ्चालन हुन लागेको हो । 

 


नेपालस्थित भारतीय दूतावासको समन्वय तथा बेलायती दूतावास र क्यानेडियन हाइकमिसन कन्ट्री पार्टनर रहने गरी भृकुटीमण्डमा एक्स्पो आयोजना हुन लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

 


भारतीय दूतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका ऊर्जा सम्बद्ध व्यक्ति तथा संस्थाबीच पारस्परिक सहकार्य सहज हुने इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

 


जलविद्युत्को बजार विस्तारका साथै भारतीय लगानीमा सहकार्यको अवसर पनि एक्स्पोले उजागर गर्ने उनको भनाइ छ । नेपालमा जलविद्युत् तथा ऊर्जा उत्पादनको वर्तमान अवस्थालाई थप तीव्रता दिने, सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यमा टेवा पु¥याउनेलगायत उद्देश्यसहित आयोजना हुने एक्स्पोले ऊर्जा क्षेत्रमा फरक आयाम दिने आयोजकको अपेक्षा छ । 

 


हाइड्रोसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको पछिल्लो प्रविधिबारे जानकारी गराउन, हाइड्रोसम्बन्धी सरोकारकारवालाई एकै छानामुनि भेला पार्न तथा विभिन्न मुलुकसँग हाइड्रो विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको हो ।

 


३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी स्टल रहनेछन् । जलविद्युत् प्रवद्र्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टर्बाइन उत्पादक, लगानीकर्ता, बैंक, बीमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहनेछन् । ५० प्रतिशत विदेशी स्टल रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

 


यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोे पावर रोबोथन (हाइड्रोकर्न २.०), ब्याटल रोबोट्स तथा हाइड्रो पावरको लाइभ डेमोनस्ट्रेसन विशेष आकर्षण बन्नेछन् । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिसन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटका साथै टनेल चेकिङ र इन्स्पेक्सनजस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटको प्रतिस्पर्धा एक्स्पोमा समावेश गरिनेछ ।

 


एक्स्पोमा विद्युतीय सवारी साधनको बजारीकरण तथा सोको माध्यमबाट जलविद्युत्को आन्तरिक बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने इप्पानका उपाध्यक्ष आशीष गर्गले बताए ।


जलविद्युत् लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पु¥याउने विश्वास गरिएको छ ।