close

गण्डकीका महिलालाई प्रजनन अंगको क्यान्सर उपचारमा आधा लाख सहुलियत

गण्डकीका महिलालाई प्रजनन अंगको क्यान्सर उपचारमा आधा लाख सहुलियत

Trulli
ADVERTISEMENT

चितवन– गण्डकी प्रदेश सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम र गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले बुधबार निःशुल्क उपचार सहायता कार्यक्रमको सम्झौतामा हस्ताक्षर गरे ।

 


गण्डकी प्रदेशका महिलाले स्त्री प्रजनन अंगमा हुने क्यान्सरको उपचारमा ५० हजार रुपैयाँ सहुलियत पाउनेछन् । सरकारले उपलब्ध गराउने १ लाख रुपैयाँ खर्च भइसकेपछि गण्डकी प्रदेशका महिलाले यो सुविधा लिन पाउने डा. गौतमले बताए ।


गण्डकी प्रदेशका महिलाले स्तन, पाठेघर, पाठेघरको मुखको क्यान्सरलगायतको उपचारमा सहुलियत पाउनेछन् । गण्डकी प्रदेशमा बसोबास गरेको प्रमाणित भएकाहरूले यो सुविधा लिन पाउने डा. गौतमले बताए ।

 

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले प्रदेश सरकारको चालू वर्षको योजनामा रहेको कार्यक्रम कार्यान्वयनका लागि अस्पतालसँग सम्झौता गरेको जानकारी दिए ।

 

प्रदेश सरकारले यो कार्यक्रमका लागि ५० लाख रुपैयाँ रकम छुट्टाएको छ । चालू आर्थिक वर्षको बाँकी ४ महिनाको अवधिको प्रगति र अवस्था हेरेर यसलाई विस्तार गर्दै थप रोग र पुरुषका लागिसमेत उपचारमा सहयोग गर्ने योजना रहेको मन्त्रालयका सचिव तिवारीले बताए । उपचारमा आउँदा वडाको सिफारिस ल्याउनुपर्नेछ ।