close

फलेवासले नयाँ भवनबाट सुरु गर्‍याे प्रशासनिक सेवा

फलेवासले नयाँ भवनबाट सुरु गर्‍याे प्रशासनिक सेवा

Trulli
ADVERTISEMENT

पर्वत–पर्वतको फलेवास नगरपालिकाले वडा नम्बर ५ स्थित खानीगाउँ झकलकबाट प्रशासनिक सेवा सुरु गरेको छ । पालिकाले १० कोठे संरचना निर्माण गरी बुधबारबाट सेवा शुभारम्भ गरेको हो ।

 
यसअघि नगरपालिकाले फलेवासको सिँचाइ आयोजना कार्यालयबाट प्रशासनिक सेवा सेवा दिँदै आएको थियो । कार्यपालिकाको बहुमतको आधारमा अस्थायी रूपमा फलेवास वडा नम्बर ५ खानीगाउँमा रहेको केन्द्र सोही वडाको झकलकमा सार्ने निर्णय भएअनुसार पालिकाले त्यहाँबाट नागरिकलाई प्रशासनिक सेवा दिन थालेको हो ।


नगरसभाले केन्द्रको संरचना झकलकमा राख्ने निर्णयविरुद्ध उप–प्रमुखमञ्जु अधिकारीले गत २२ चैतमा नगरसभा, कार्यपालिका, नगर प्रमुखसहितलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेपछि २५ चैतमा भवन निर्माण काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो । 


सर्वोच्चको आदेशविरुद्ध नगरप्रमुख पदमपाणि शर्मासहितले आदेश खारेजी माग गर्दै ९ वैशाखमा मुद्दा दर्ता गरेका थिए । नगर प्रमुख शर्माले दायर गरेको पुनरावलोकन मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले पुरानो अन्तरिम आदेश खारेज गरपछि भवन निर्माणको काम अघि बढाएको हो ।

 


भवन निर्माण स्थलका विषयमा भएको विवादका कारण लामो समयदेखि रोकिएकोे प्रशासनिक भवन निर्माण अहिले तीव्र गतिमा अगाडि नगरप्रमुख शर्माले बताए । भवन ४२ कोठे हुनेछ । जुम्ले थान एन्ड आचार्य बिल्डर्स प्रालि बागलुङले भवन निर्माणको जिम्मा पाएको छ ।

 

भवन निर्माणका लागि ०७८ भदौमा सम्झौता भएको थियो । ९ करोड २ लाख रुपैयाँ लागतमा डेढ वर्षमा भवन सम्पन्न गर्ने गरी सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

 

यसैबीच फलेवासका एक दर्जन सामाजिक संघ–संस्थाले नगरपालिकाका जनप्रतिनिधिलाई सम्मान गरेका छन् । फलेवास नगरपालिकाले झकलकबाट सेवा प्रवाह सुरु गर्ने क्रममा यहाँका संघ–संस्था तथा अगुवा नागरिकले सम्मान गरेका हुन् ।


झकलक कृषि सहकारीलगायत संघ–संस्थाले फलेवास नगरपालिकाका संस्थापक जनप्रतिनिधिलाई सम्मान गरेका हुन् । कार्यक्रममा नगर प्रमुख शर्माले नागरिकको अपेक्षा र भावनालाई बुझेर काम गरेको बताए । उनले आफ्नो कार्यकालमा उपलब्धिमूलक काम भएको दाबी गरे ।