close

ज्येष्ठ पत्रकारलाई बाँडिँदै मासिक भत्ता

ज्येष्ठ पत्रकारलाई बाँडिँदै मासिक भत्ता

Trulli
ADVERTISEMENT

काठमाडौं–सरकारले ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिने भएको छ । सूचना तथा प्रविधि मन्त्रालयले ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८’ बनाएर ज्येष्ठ पत्रकारलाई भत्ता उपलब्ध गराउने भएको हो ।


११ फागुनमा मन्त्रालयले गरेको निर्णयअनुसार अब ६५ देखि ६९ वर्षसम्मका पत्रकारले मासिक ५ हजार, ७० देखि ७५ वर्षसम्मकालाई ७ हजार, ७६ देखि ८० वर्षसम्मकालाई १० हजार र ८१ वर्षमाथिका ज्येष्ठ पत्रकारले १५ हजार रुपैयाँका दरले भत्ता पाउनेछन् ।

 

यसलाई ज्येष्ठ पत्रकार वृत्ति भनिएको छ। नेपाल पत्रकार महासंघले लामो समयदेखि ६५ वर्षमाथिका पत्रकारलाई पत्रकार वृत्ति उपलब्ध गराउन सरकारलाई सुझाव दिँदै आएको थियो । महासंघले मन्त्रालयको यो निर्णयको स्वागत गर्दै मापदण्डका कतिपय प्रावधान सरलीकृत गर्न सुझाएको छ ।


पत्रकारको न्यूततम पारिश्रमिक २५ प्रतिशत बढाउन सिफारिस

न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको आधारभूत तलब २५ प्रतिशत वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ । समितिले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ‘श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस २०७८’ प्रतिवेदन पेस गर्दै श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम आधारभूत तलब २५ प्रतिशत बढाउन सिफारिस गरेको हो ।

 

हाल पत्रकारको न्यूनतम आधारभूत तलब २४ हजार ५०० रुपैयाँ छ । समितिका अध्यक्ष राजेन्द्र अर्यालले न्यूनतम आवश्यकता, बजारभाउमा आएको उतारचढाव र अन्य क्षेत्रमा कार्यरत श्रमजीवीको तुलनात्मक पारिश्रमिक दरको अध्ययन गरी २५ प्रतिशतले तलब वृद्धिको सिफारिस गरिएको बताए ।


प्रतिवेदन बुझ्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समितिको सिफारिस कार्यान्वयनका लागि छलफल गरिने जानकारी दिए । ‘तपाईंहरूले दिएका सुझाव के गर्न सकिन्छ, त्यसका निम्ति मन्त्रालयमा सबैसँग छलफल गरेर सबै माग पूरा गर्न चाहन्छौँ । तर, ती माग पूरा गर्न कति कठिन छ, कठिनाइका बाबजुद पनि कसरी पूरा गर्न सकिन्छ, त्यसको बाटो खोजेर अगाडि बढौँला,’ उनले भने । नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलले श्रमजीवी पत्रकारको तलब ५० प्रतिशतले वृद्धि हुनुपर्ने धारणा राखे ।