उदयपुर– चौदण्डीगढी खेलकुद महोत्सव २०७८ अन्तर्गत चौदण्डीगढी नगरपालिकाको संयोजन तथा चौदण्डीगढी नगर शिक्षा शाखाको आयोजनामा नगरस्तरीय अन्तरमावि हाजिरी जवाफ प्रतियोगिता नगरको वडा नम्बर ६ स्थित ज्योति माविमा सम्पन्न भएको छ ।
नगरस्तरीय अन्तरमावि हाजिरीजवाफ प्रतियोगिताको नगरप्रमुख खगेन्द्र राईले उद्घाटन गरे । प्रतियोगितामा १३ सामुदायिक र दुई संस्थागत विद्यालय गरी १५ विद्यालयको सहभागिता रहेको चौदण्डीगढी नगर शिक्षा शाखा प्रमुख उपसचिव रमेश्वर कुँवरले जानकारी दिए ।
हाजिरी जवाफ प्रतियोगितामा ७५ प्रश्न सोधिएकामा १४ नम्बर प्राप्त गर्दै सगरमाथा आवासीय मावि बेल्टार प्रथम, ११ नम्बर प्राप्त गर्दै नारद आदर्श मावि चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसाहा द्वितीय र १० अंक प्राप्त गर्दै चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ स्थित भगवती मावि हडियाले तृतीय स्थान हासिल गरे ।
अन्तरमावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा ८ अंक प्राप्त गर्दै ज्योति माविले सान्त्वना पुरस्कार पाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
चौदण्डीगढी खेलकुद महोत्सव २०७८ अन्तर्गतको नगरस्तरीय अन्तरमावि हाजिरीजवाफ प्रतियोगितामा सहभागी हुने सम्पूर्ण टिमलाई प्रमाणपत्र प्रदान गरियो ।