close

भीमदत्तलाई बाह्रसिंगाको नगरका रूपमा चिनाउँदै नगरपालिका

भीमदत्तलाई बाह्रसिंगाको नगरका रूपमा चिनाउँदै नगरपालिका

Trulli
ADVERTISEMENT

कञ्चनपुर–भीमदत्तलाई बाह्रसिंगा नगरका रूपमा चिनाउन नगरपालिकाले अभियान सञ्चालन गरेको छ । पर्यटक आकर्षित गर्ने उद्देश्यले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका बाह्रसिंगालाई चिनाउन नगरपालिकाले अभियान सञ्चालन गरेको हो ।

 

नगरपालिकाले बाह्रसिंगालाई ब्रान्ड बनाउने घोषणा गरेको छ ।‘बाह्रसिंगालाई नगरको ब्रान्डका रूपमा घोषणा गरेका छौँ’, नगर प्रमुख सुरेन्द्र विष्टले भने, ‘बाह्रसिंगाको प्रचार–प्रसारका कार्यक्रम सञ्चालन गर्छौं । बाह्रसिंगाको लोगो तथा पोस्टर कार्यालय, चोक–चोकमा राखेर प्रचारलाई व्यापक बनाउँछौँ ।’

 

नगरपालिकामा राखिने सबै प्रकाशनमा बाह्रसिंगाको लोगो राखिने उनले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वकै ठूलो बाह्रसिंगा रहेका छन् । बाह्रसिंगामार्फत शुक्लाफाँटालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचार–प्रसारसँगै पर्यटन प्रवद्र्धन गर्ने नगरपालिकाको योजना छ ।

 

नगर प्रमुख विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रचूर सम्भावनाको धनी रहेकाले त्यसको प्रवद्र्धनलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताए । आव ०७८/७९ को नीति तथा कार्यक्रममा समेत नगरपालिकालाई बाह्रसिंगाको नगरका रूपमा परिचित गराउने कार्यक्रम समावेश गरिएको थियो ।

 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले भीमदत्त नगरपालिकाले बाह्रसिंगालाई ब्रान्डका रूपमा प्रयोग गर्ने कार्यसँगै नगरलाई बाह्रसिंगा नगर घोषणा गर्ने काम सराहनीय रहेको बताए । यसले निकुञ्जको पर्या–पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र बाह्रसिंगाको प्रचार–प्रसारमा सघाउ पुग्ने उनको विश्वास छ ।

 

ठूलो झुन्डमा निकुञ्जका फाँटमा चर्दै गरेका बाह्रसिंगा एकसाथ हेर्न सकिन्छ । बाह्रसिंगा हेर्नकै लागि टाढाटाढाबाट पर्यटक यस क्षेत्रमा पुग्ने गर्छन् । निकुञ्ज बाह्रसिंगाका लागि दक्षिण एसियामै प्रसिद्ध छ । निकुञ्जमा सन् २०१२ मा गरिएको गणनामा बाह्रसिंगाको संख्या २ हजार १७० थियो ।

 

सुरक्षित बासस्थान र चरनको पर्याप्त क्षेत्र भएकाले यो संख्या बढेको अनुमान छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ०२६ मा सिकार आरक्षका रूपमा स्थापना भई ०३२ मा १५५ वर्गकिमि क्षेत्रफललाई समेटी शुक्लाफाँटा वन्यजन्तु आरक्षका रूपमा घोषणा गरिएको हो ।