खोटाङ–जिल्लामा कोभिड–१९ संक्रमण बढ्न थालेपछि महिना दिनअघि अनिश्चितकालीन बन्द गरिएका जिल्लाका दस वटै स्थानीय तहमा सञ्चालित हाटबजार खुला गरिएको छ । कोभिड–१९ को तेस्रो लहर सुरु भएपछि गत माघ ६ गतेदेखि अनिश्चितकालीन बन्द गरिएका जिल्लास्थित सबै स्थानीय तहका हाटबजार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)को शुक्रबार बसेको बैठकले खुला गर्ने निर्णय गरेको हो ।
कोभिड–१९ को संक्रमणको घट्दो दरलाई लक्षित गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्ने तथा एकै स्थानमा २५ भन्दा बढी उपस्थित नहुने गरी हाटबजार खुला गर्ने निर्णय गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताए ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल, बाक्सिला, ऐंसेलुखर्क, अर्खौले, बुइपा, मात्तिम, पञ्चमी, खोटाङबजार, चिसापानीलगायत ठाउँमा साप्ताहिक हाटबजार लाग्ने गरेको छ । हाटबजार बन्द हुँदा कृषिउपजलगायत स्थानीय उत्पादन बिक्री गरेर जीविका चलाउने स्थानीय कृषक मारमा पर्ने गरेका छन् ।