सर्लाही–जिल्ला प्रशासन कार्यालय सर्लाहीले ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा सुरु गरेको छ । राहदानी विभाग काठमाडौंबाट पहिलो पटक १५६ सेवाग्राहीको ई–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार तीन जना सेवाग्राहीलाई ई–पासपोर्ट प्रदान गरी कार्यक्रम सुरु गरिएको हो ।
ई–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर आ–आफ्नो पासपोर्ट लिन सक्ने र आवेदन पेस भएको १५ दिनभित्र सेवाग्राहीलाई ई–पासपोर्ट उपलब्ध गराइनेछ ।
लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले करिब ११ वर्ष पछि ई–पासपोर्ट प्रयोगमा ल्याएको छ ।
विभागले दिने राहदानीमा विद्युतीय चाप हुने र यसमा सम्बन्धित व्यक्तिका विवरण समाविष्ट हुने कार्यालयले जनाएको छ । एमआरपीका तुलनामा ई–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने जनकारी दिइएको छ । जिल्लाबाटै सो सेवा पाइने भएपछि सेवाग्राहीलाई काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।