उदयपुर–उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ र २ जोगिदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणको काम अघि बढेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ र २ जोगिदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणका लागि रुख कटानको काम सुरु भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थलको भौतिक पूर्वाधार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने वन तथा भू संरक्षण विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच गत २४ माघमा सम्झौता भएपछि विमानस्थल निर्माण प्रक्रिया अघि बढेको हो ।
राष्ट्रिय योजना आयोगले सगरमाथा आन्तरिक विमानस्थललाई राष्ट्रिय प्राथमिकता प्राप्त योजनामा समावेश गरी काम अघि बढाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा विमानस्थललाई राष्ट्रिय प्राथमिकता प्राप्तमा राखेर काम अघि बढाएको थियो । विमानस्थल निर्माणको माग गर्दै आएका उदपुरबासीका लागि चार दशक लामो सपनाले साकार रूप लिन लागेको छ ।
निर्माण स्थलमा रहेका हरियो रुख कटान गर्न वन तथा भू–संरक्षण विभाग र प्राधिकरणबीच २४ माघ ०७८ मा सम्झौतापछि रुख कटानको काम अघि बढेको हो । सम्झौतामा बिमानस्थल निर्माणका लागि १ सय ५६ दशमलव ११ हेक्टर क्षेत्रफलमध्ये १ सय ५ दशमलब १० हेक्टरमा रहेको रुख मात्र कटान गरिने उल्लेख छ ।
बाँकी रहेको ५० दशमलव ४१ हेक्टरको कटान गर्न पाइने छैन । विमानस्थल निर्माण गर्ने शिवालय धार्मिक वन उपभोक्ता समूहको ०.५२ हेक्टर क्षेत्रमा १७८ वटा रुख कटान, कंग सामुदायिक वन उपभोक्ता समूहको ७२.३५ हेक्टर क्षेत्रमा १२ हजार ६ सय ३८ वटा रुख कटान र मोतियाही सामुदायिक वन उपभोक्ता समूहको ८३.२४ हेक्टर क्षेत्रमा ५ हजार ६ सय ७ वटा रुख कटान गर्नुपर्नेछ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको विशेष पहलमा सगरमाथा आन्तरिक विमानस्थल निर्माण हुन लागेको हो ।
सम्झौताअनुसार १ सय ५ दशमलव १० हेक्टरको मात्र रुख कटान गरी बाँकी रहेको ५० दशमलव ४१ हेक्टरमा हरियाली कायम गर्ने उल्लेख छ । सगरमाथा आन्तरिक विमानस्थल आयोजना प्रमुख हिमज्योति थापासहितको टोली अहिले निर्माण स्थलमा रुख छपान तथा कटानको काम थाल्न आएको छ । ३ फागुनदेखि विमानस्थलको सीमांकन तथा रुख कटाइको काम अघि बढेको परराष्ट्रमन्त्री डा. खड्काको सचिवालयका लीला भट्टराईले जानकारी दिए ।
प्राधिकरणका इन्जिनियर सत्यनारायण दुलालले एक जिल्ला एक विमानस्थल, एक गाउँ एक हेलिप्याड निर्माण गर्ने सरकारको घोषित नीतिअनुसार नै उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ र २ जोगिदहमा एटिआर ७२ डिजाइनको जेटस्टिम एप्रो विमान उडान र अवतरण गर्न सक्ने विमानस्थल बनाउन लागिएको हो ।
उनले भने, ‘यहाँ १ हजार ७५० मिटर लामो र ३० मिटर चौडाइको धावन मार्ग, २ सय मिटर लामो र ६० मिटर चौडाइको एप्रोनसहितको टर्मिनल भवन, कर्मचारी भवन र ट्याक्सी वे २ वटासमेतका लागि १५६.११ हेक्टर वन क्षेत्रको जग्गा अधिग्रहण गर्नुपर्नेछ । वर्षाको समय कुहिरो नलाग्ने तथा हिउँदका बेला हुस्सु नलाग्ने यहाँको प्राकृतिक वातावरण अनुकूल भएकाले बाह्रै महिना विमान उडान र अवतरणमा मौसम प्रतिकूल नहुने हुँदा यो विमानस्थल निर्माणपछि राजधानी काठमाडौंबाट पूर्वी नेपालको जनकपुर, विराटनगर, भद्रपुर, खोटाङ, भोजपुर र सोलुखुम्बुलगायत पहाडी जिल्लामा रहेका विमानस्थलको हबको रूपमा विकास गर्न टच प्mलाइटको समेत अध्ययन गरिएको इन्जिनियर दुलालले बताए ।
तत्कालीन सहायक गृहमन्त्री नरसिंहभक्त तुलाचनले ०३१ मा पहिलो पटक गाईघाटमा विमानस्थल निर्माण शिलान्यास गरेका थिए । तर, त्यसपछि कुनै काम हुन नसक्दा लामो समयदेखि उदयपुरमा विमानस्थल निर्माण सेलाएको थियो । सदरमुकाम गाईघाटदेखि १० किलोमिटरको दूरीमा रहेको त्रियुगा नगरपालिका वडा नम्बर १ र २ जोगिदहस्थित सिमलटार क्षेत्रमा स्थानीय मोथियाही सामुदायिक वन उपभोक्ता समिति, शिवालय धार्मिक सामुदायिक वन उपभोक्ता समूह र कंग सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रूपमा १ सय ५ बिघा जमिन विमानस्थल निर्माण गर्ने प्रयोजनका लागि नागरिक उड्डयन प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएका थिए ।
प्रस्तावित विमानस्थल नजिकै नेपाली सेनाको १८ नम्बर वाहिनी अड्डा रहेकाले सुरक्षाको कुनै चिन्ता नभएको र यो ठाउँ सगरमाथाको फेदीमा रहेकाले दोलालघाटदेखि चतराघाटसम्म सुनकोसीमा ¥याप्mटिङ गर्न आउनेदेखि लिएर कोसीटप्पु वन्यजन्तु आरक्षमा अर्ना हेर्न आउने पर्यटकका लागि सहज हुनेछ । यहाँबाट पर्वतीय उडानसमेत गर्न सकिनेछ ।
विमानस्थलको स्क्याचभित्र अहिले १ सय ५६.११ हेक्टर क्षेत्रफल पर्ने बताइएको छ । त्यसमा पनि विमानस्थल निर्माणका लागि १०५ हेक्टर र ५१ हेक्टर बगैँचालगायत निर्माणका लागि प्रस्ताव गरिएको छ । विमानस्थल समुद्री तहबाट १२५ देखि १४८ मिटरको उचाइमा रहेको, सबै मौसमा विमान सञ्चालन हुने सक्ने उपयुक्त मौसम रहेको अध्ययनमा संलग्न इन्जिनियर अभिषेक बिसीले जानकारी दिए ।
प्रस्तावित विमानस्थल क्षेत्रमा ८४ प्रजातिका जंगली जनावर पाइने उल्लेख गरिएको छ । विमानस्थल निर्माण क्षेत्रमा तीन वटा सामुदायिक वनको गरी १८ हजार ४ सय २३ रुख कटान गरिनेछ । विमानस्थल जैविक तथा वातावरणीय हिसाबले पनि उपयुक्त रहेको इन्जिनियर बिसीको भनाइ छ । उनका अनुसार विराटनगरको क्षेत्रीय विमान स्थलको भन्दा रनवे लामो भएकाले पनि यसलाई पूर्वकै क्षेत्रीय विमानस्थलको हबको रूपमा विकास गरी प्रयोगमा ल्याउन सकिनेछ ।
पूर्व–पश्चिमको धावन मार्ग भएको तथा उडान र अवतरणका बेला कुनै पहाडले छेक्न नसक्ने भू–बनोट रहेकाले विमान आकस्मिक अवतरण गर्नसमेत सक्नेछन् । खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका विमानस्थलमा मौसमी समस्या आउँदा यहाँ अवतरण गराउन सकिने डिजाइनमा संलग्न इन्जिनियर राजीव बरालले जानकारी दिए ।
विमानस्थल निर्माणका लागि रुख कटान गर्न गत वर्ष त्रियुगा नगरपालिकाबाट १० लाख, चौदण्डीगढी नगरपालिकाबाट १० लाख र प्रदेश सांसद हिमाल कार्कीको संसदीय कोषबाट ५ लाख गरी २५ लाख रुपैयाँमा उपलब्ध गराइएको थियो । विमानस्थल निर्माणको परामर्श दाता प्याक्ट नेपालका डा. महेन्द्रनाथ सुवेदीले प्याक्ट कन्सल्ट्यान्टले दुई वर्षको समय खर्चेर सर्वेक्षण एवं स्थलगत अध्ययन गरी त्यसबाट हुने राम्रो र नराम्रो दुवै पक्षको मूल्यांकनसहितको प्रतिवेदन तयार पारेको बताए ।