close

पाँचखाल स्मार्ट सिटी निर्माण : निफ्रा र एसएमईसी इन्टरनेसनलबीच समझदारी

पाँचखाल स्मार्ट सिटी निर्माण : निफ्रा र एसएमईसी इन्टरनेसनलबीच समझदारी

Trulli
ADVERTISEMENT

काठमाडौं–काभ्रेको पाँचखाल नगरपालिकामा स्मार्ट सिटी विकास गर्ने प्रयोजनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सिंगापुरस्थित  सुरबाना जुरोङ (एसजी) समूहको सदस्य एसएमईसी इन्टरनेसनल प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

 

 
निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिमजहाँ फहिमले आ–आफ्नो कम्पनीको प्रतिनिधित्व गर्दै समझदारीपत्रमा हस्ताक्षर गरे ।

 


समझदारीपत्रअनुसार सिंगापुरस्थित ग्लोबल सहरी पूर्वाधार परामर्श फर्म सुरबाना जुरोङ समूहको सदस्य एसएमईसीले प्रस्तावित स्मार्ट सिटी निर्माण गर्न आवश्यक प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रिय सफल अभ्यास अध्ययन, विश्लेषणमा सहकार्य गर्नेछ ।

 


निफ्राले एसजेलाई आवश्यक सहजीकरण, स्मार्ट सिटी विकासका लागि सरोकारवालासँगको समन्वयमा आवश्यक लगानी जुटाउन पहल गर्नेछ । पाँचखाल नगरपालिकाले नगरका जग्गाधनीसँगको समन्वयमा जग्गा प्राप्ति गर्न आवश्यक सहजीकरण र सहकार्य गर्नेछ ।

 


नेपालकै पहिलो परियोजना पाँचखाल स्मार्ट सिटीले करिब ५५०० रोपनी क्षेत्रफल ओगट्नेछ । स्मार्ट सिटीको विकासका लागि निफ्राले पाँचखाल नगरपालिकासँग छुट्टै समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

 


त्यसका लागि निफ्राले बजार अध्ययनसम्बन्धी अमेरिकास्थित परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्ट्स प्रालि सँग सम्झौता गरेको छ । कार्यक्रममा निफ्राका उच्च व्यवस्थापनका पदाधिकारी, एसएमईसीका पदाधिकारी,  र पाँचखाल नगरपालिकाका प्रवक्ता सञ्जय लामाको उपस्थिति थियो ।