close

घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्दै वीरगञ्ज महानगर

घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्दै वीरगञ्ज महानगर

Trulli
ADVERTISEMENT

पर्सा–पर्साको वीरगञ्ज महानगरले नगर क्षेत्रका गर्भवती तथा सुत्केरी महिला र ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य सेवा दिन थालेको छ । नगरका बासिन्दालाई घरमै सहज स्वास्थ्य सेवा पुर्‍याउने  उद्देश्यले महानगरले ‘मेयर घरदैलो स्वास्थ्य सेवा’ थालेको हो ।

 

कोरोना महामारीको समय अस्पतालसम्म आउन समस्या खेपिरहेका गर्भवती, सुत्केरी महिला तथा ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर घरदैलो स्वास्थ्य अभियान सञ्चालन गरिएको वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले बताए ।

 


महानगरले पहिलो चरणमा १ देखि १६ नम्बर वडासम्म यो सेवा सञ्चालन गरेको हो । ‘स्वास्थ्यकर्मीले ती वडाका लक्षित सेवाग्राहीलाई घरमै पुगेर सेवा दिइरहेका छन् । यो स्वास्थ्य सेवाबाट नगरका बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ,’ प्रमुख सरावगीले भने ।

 

महानगरबाट खटिएका स्वास्थ्यकर्मीले स्थानीयको घरमै पुगेर स्वास्थ्य परीक्षण, निःशुल्क औषधी र परामर्श सेवा दिन थालेको महानगरको स्वास्थ्य महाशाखाले बताएको छ । यसका लागि महानगरले १७ लाख रुपैयाँ बजेट छुट्याएको छ । 

 


नगरबासी स्वास्थ्योपचारबाट वञ्चित हुन नपरोस् भनेर घरघरमै पुगेर स्वास्थ्य सेवा दिन थालिएको सरावगीको भनाइ छ । यो सेवा विस्तार गर्दै जाने योजना महानगरको छ ।

 

घरदैलो स्वास्थ्यअन्तर्गत मधुमेह र उच्च रक्तचापको परीक्षण गरिनेछ । घरदैलो स्वास्थ्य परीक्षणका क्रममा प्रायः यस्ता बिरामी भेटिने स्वास्थ्यकर्मीले बताए ।

 

यी स्वास्थ्य समस्या भएका बिरामीलाई आवश्यक औषधी उपलब्ध गराइएको स्वास्थ्यकर्मी नाहिदा नाजले बताइन् । महानगरले ७० प्रकारका निःशुल्क औषधी वितरण गरेको छ ।