महेन्द्रनगर–कञ्चनपुरको भीमदत्त नगरपालिकाले क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत सडक निर्माण गरिरहेको छ । नगरलाई आधुनिक सहर बनाउने रणनीतिअनुसार निर्माण भइरहेको उक्त सडकको काम सम्झौता भएको डेढ वर्षमा २७ प्रतिशत मात्र सम्पन्न भएको हो ।
भीमदत्त नगरपालिकाका इन्जिनियर गोरखबहादुर सिंहले सडक निर्माणमा ढिलाइ भइरहेको बताए । सडक निर्माण जिम्मा पाएको कम्पनीले ढिलाइ गर्दा योजनाको भौतिक प्रगति कम देखिएको हो । योजना सम्झौताको म्याद सकिन अब ५ महिना मात्र बाँकी छ ।
कोरोना संक्रमणका कारण गरिएको लकडाउनले पनि निर्माण प्रभावित भएको इन्जिनियर चन्दले जानकारी दिए । तर पछिल्ला दिनमा भने निर्माणले गति लिएको नगरपालिकाले बताएको छ । सडक निर्माणका लागि जेडआईईसी–लामा जेभीसँग ठेक्का सम्झौता गरिएको छ ।
क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत भीमदत्तमा ६ वटा सडक निर्माण भइरहेका छन् । भाँसी–रौटेला सडक, नापी कार्यालय हुँदै वन कार्यालय जोड्ने सडक, ट्राफिक चोक–अस्पताल, भगतपुर सडक, भानुचोकदेखि मदनचोक, एयरपोर्ट रोड, आँखा अस्पताल हुँदै पार्क जोड्ने सडक, निम्बुखेडा जाने सडक र आदर्श टोल सडक योजना रहेका छन् ।
आयोजनाअन्तर्गत १४ किलोमिटर सडक निर्माण हुनेछ । भीमदत्त नगरमा २७ किलोमिटर फुटपाथ र २२ किलोमिटर ढल (नाली) निर्माण गरिनेछ । कोरोनाका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका इन्जिनियर भूपेन्द्र सिंहले बताए । ‘कोरोनाका कारण करिब ६ महिना काम हुन पाएन,’ उनले भने, ‘अहिले निर्माण अघि बढेको छ ।’ कामदार नपाउँदा पनि निर्माणमा ढिलाइ भइरहेको उनको भनाइ छ । कोरोनाका कारणले भारतीय कामदार ल्याउन नपाइएको उनले बताए ।