close

पाँच वर्षमा थपिए झन्डै ४५ लाख मतदाता

पाँच वर्षमा थपिए झन्डै ४५ लाख मतदाता

Trulli
ADVERTISEMENT

काठमाडौं– पछिल्लो पाँच वर्षमा करिब ४५ लाख मतदाता बढेको निर्वाचन आयोगले बताएको छ । ३१ वैशाख, १४ असार र २ असोज ०७४ मा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । निर्वाचन आयोगका अनुसार उक्त निर्वाचनमा १ करोड ४० लाख ७४ हजार ४ सय २४ मतदाता थिए ।


आगामी ३० वैशाखमा निर्वाचन घोषणा भइसकेकाले मतदाता नामावली संकलन स्थगित छ । यसअघि संकलित मतदाता नामावली जिल्ला निर्वाचन कार्यालयबाट लिने क्रम जारी रहेको आयोगले जनाएको छ । प्रारम्भिक तथ्यांकअनुसार मतदाता संख्या १ करोड ८५ लाख पुगेको छ । यो संख्या गत स्थानीय तहको निर्वाचनभन्दा ४५ लाख बढी हो ।

 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचनको मिति घोषणा गरेको दिनसम्म १८ वर्ष उमेर पुग्नेको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गरिनेछ । त्यसका लागि यही साताभित्र सबै जिल्ला निर्वाचन कार्यालयलाई मतदाताको अद्यावधिक तथ्यांक केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिइएको प्रवक्ता पौडेलले बताए ।

 

सबै जिल्लाबाट मतदाताको संख्या प्राप्त भएपछि त्यसमाथि छलफल गर्ने, दाबी विरोध लिने र सच्याउने समय दिएर मतदाताको संख्या कायम गरिने प्रवक्ता पौडेलले जानकारी दिए । ०७४ कै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भने मतदाता संख्या १ करोड ५४ लाख थियो ।