close

पशुपतिमा अतिक्रमित टहरा हटाउन पर्यटनमन्त्रीको निर्देशन 

पशुपतिमा अतिक्रमित टहरा हटाउन पर्यटनमन्त्रीको निर्देशन 

Trulli
ADVERTISEMENT

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहरा हटाउन निर्देशन दिएका छन् । आइतबार उक्त क्षेत्रको निरीक्षण तथा अनुगमनमा गएका मन्त्री आलेले पशुपतिनाथ क्षेत्रमा रहेका सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन् ।

 

‘गुहेश्वरीमा थुप्रै ठाउँमा टहरा बनाएर कब्जा गर्ने र अतिक्रमण गर्ने काम भएको छ । यहाँ बनाइएका टहरा हटाउन निर्देशन दिएको छु । अतिक्रमण गर्न पाइँदैन,’ उनले भने । मन्त्री आलेले पशुपति क्षेत्र विकास कोषको हाताभित्र थुप्रै विकृति भएको बताए ।

 


विगतका सदस्य सचिवले मनपरी ढंगबाट काम गरेको तथा विकास कोषमा कुनै पनि मासिक भाडा नआउने गरी निःशुल्क रूपमा गाईपालन गर्न जमिन दिएको पाइएकाले ती विकृति अन्त्य गर्ने उनको दाबी छ । ‘पशुपति क्षेत्र विकास कोषबाट अनुमोदन नै नगरी कतिपय ठाउँ र जमिन भाडामा दिइएको देखियो । यस्ता विकृति अन्त्य हुन्छन्,’ उनले भने । 


पशुपति क्षेत्र विकास कोषको हाताभित्र रहेका किरियापुत्री बस्ने ठाउँलाई व्यवस्थित गर्न पहल भइरहेको समेत उनले जानकारी दिए । उनले किरियापुत्री बस्ने ठाउँमा तातो–चिसो पानीको व्यवस्थापन गर्ने बताए ।

 

मन्त्री आलेले गोठाटारमा रहेको जग्गा पनि अतिक्रमण भएकाले त्यो पनि १५ दिनभित्र हटाइने जानकारी दिए । पशुपति मन्दिर क्षेत्रमा जम्मा हुने फोहोर व्यवस्थापनका लागि काम अगाडि बढाउनसमेत उनले कोषका पदाधिकारीलाई निर्देशन दिए ।