close

समयमै स्थानीय तहको निर्वाचन गर्न बारको अपिल

समयमै स्थानीय तहको निर्वाचन गर्न बारको अपिल

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपाल बार एशोसिएशनले नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानून समेतका आधारमा सबै तहका निर्वाचन समयमा नै गर्न सरकारसँग अपिल गरेको छ ।


     
बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा समयमै सबै स्थानीय तहको निर्वाचन गरी लोकतन्त्रको रक्षा र सम्बद्र्धन गर्ने कार्यमा लाग्न सरकार तथा सम्बन्धित सबैसँग अपिल गरिएको छ । ‘कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानुन विपरीत मात्र नभइ लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ ।’
     


नेपालको संविधानले स्थानीय तह, प्रदेश संसद् र सङ्घीय संसद्, राष्ट्रियसभा लगायतका निकायको आवधिक निर्वाचनको व्यवस्था गरेको छ । त्यस्ता निकायको शून्यताको परिकल्पना संविधान र निर्वाचनसम्बन्धी कानुनले गरेका छैनन् । ‘वालिग मताधिकारको आधारमा आवधिक निर्वाचनबाट नै वास्तविक लोकतन्त्रको रक्षा र सम्बद्र्धन हुने कुरामा कसैको दुईमत हुन सक्दैन’, प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हाल स्थानीय तहको अवधि समाप्त हुन लागेको र यसको नियमित निर्वाचन गर्नुपर्ने विषयमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’