close

श्रम मन्त्रालयमा वैदेशिक रोजगार गुनासो सुनुवाइ कक्ष 

श्रम मन्त्रालयमा वैदेशिक रोजगार गुनासो सुनुवाइ कक्ष 

Trulli
ADVERTISEMENT

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टर तथा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्ष स्थापना गरेको छ । सुनुवाइ कक्ष उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा नेपाली नागरिकलाई अलपत्र पार्ने जोसुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाए ।


मन्त्री श्रेष्ठले पीडितको गुनासो सुनुवाइका लागि प्रतिउत्तर कार्य टोली तथा प्रहरीको समेत सहभागितामा मार्सल टोली गठन गरी दोषीलाई कारबाही सुरु गरिएको बताए । मन्त्रालयका सचिव एकनारायण अर्यालले कल सेन्टर तथा वैदेशिक रोजगारसम्बन्धी गुनासो सुनुवाइ कक्षबाट वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी प्राथमिकताका साथ समाधान गरिने जानकारी दिए । 


कल सेन्टर तथा वैदेशिक रोजगारसम्बन्धी गुनासो सुनुवाइ कक्षमार्फत वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासा तथा सुझाव संकलन गरी एकीकृत गरिनेछ । मन्त्रालयमा आएका समस्या तथा गुनासालाई प्राथमिकीकरण गरी समाधान गरिनेछ भने सेवाग्राहीलाई आफ्नो गुनासो सुनुवाइ अवस्थाबारे जानकारी दिइने मन्त्रालयले जनाएको छ । 


कल सेन्टर तथा वैदेशिक रोजगारसम्बन्धी गुनासो सुनुवाइ कक्षमा कस्ता खालका समस्या र गुनासो आउँछन्, त्यसले सरकारलाई नीति निर्माणमा पनि सहयोग पुग्ने मन्त्री श्रेष्ठले बताए ।  वैदेशिक रोजगारीका नाममा हुने कुनै प्रकारको रकम संकलन, ठगीलगायत क्रियाकलापमा संलग्न व्यक्ति, मेनपावर कम्पनी वा अन्य संस्थाउपर वैदेशिक रोजगार ऐन, २०६४ र अन्य सम्बद्ध कानुनबमोजिम पक्राउ गर्ने, अनुसन्धान गर्ने र आवश्यक कारबाही अगाडि बढाइने मन्त्रालयले बताएको छ ।

 

यससम्बन्धी समस्या तथा गुनासो मन्त्रीको सचिवालयको मोबाइल नम्बर ९८२३२५६७०४, ९८२३२५६७०६ र मन्त्रालयमा रहेको कल सेन्टरको नम्वर +९७७१५९७००८ वा टोल फ्री नम्बर ११४१ मा सीधै सम्पर्क गरी २४ सै घन्टा गुनासो र समस्या टिपाउन सकिनेछ ।