काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीका सर्वमान्य सिद्धान्त, मूल्य–मान्यताअनुसार सहकारीलाई अगाडि बढाउन सहकारी बोर्डको भूमिका महत्त्वपूर्ण हुने बताएकी छन् ।
मन्त्रालयमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्षमा नियुक्त मित्रराज दवाडीलाई नियुक्ति–पत्र वितरण र प्रतिबद्धता जाहेर कार्यक्रममा मन्त्री श्रेष्ठले खारेजी चरणमा पुगेको सहकारी बोर्डले पुनर्जीवन पाएकाले सही दिशामा लैजान बोर्डले पहल गर्नुपर्ने धारणा राखिन् ।
सहकारी बोर्ड अध्यक्षसमेत रहेकी मन्त्री श्रेष्ठले नीतिगत रूपमा देखिएका समस्या समाधान गरी सहकारी क्षेत्रलाई अनुशासित र मर्यादित बनाउन जोड दिइन् । उनले संविधानमै व्यवस्था गरिएको अर्थतन्त्रको तीन खम्बे नीतिअनुरूप देशलाई समृद्धिको दिशामा लैजान सहकारी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताइन् । सहकारी क्षेत्रको सुधारका लागि मन्त्रालयको सधैँ सहयोग गर्न तत्पर रहेको उनले प्रतिबद्धता जनाइन् ।
मन्त्री श्रेष्ठले सहकारी क्षेत्रसँग अहिले चुनौती र अवसर दुवै रहेकाले सम्भावनाको खोजी गर्दै सहकारीका माध्यमबाट रोजगारी सिर्जना र गरिबी निवारणमा पहल गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
कार्यक्रममा मन्त्रालयमा सचिव गणेशप्रसाद पाण्डेयले सहकारी क्षेत्रको सुधार आवश्यक रहेको बताउँदै सहकारी बोर्डले आवश्यकता र औचित्य पुष्टि गर्न जरुरी रहेको सुनाए । राष्ट्रिय सहकारी विकास बोर्डका नवनियुक्त सह–अध्यक्ष मित्रराज दवाडीले सहकारी क्षेत्रमा रहेका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।