जुम्ला– कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश प्रहरी कार्यालयले कार्य सम्पादनको आधारमा ३४८ जना प्रहरीलाई पुरस्कार र १५८ जनालाई सजाय गरिएको अर्धवार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ । यस्तै, विभिन्न निकायहरूको समन्वयमा विभिन्न स्थानमा ४४ थान सिसीटिभी क्यामेरा जडान र ४० थान मर्मत गरी २४५ थान जडान गरिएको छ । अवैध हातहतियार २४ नाल बरामद र १५ जना पक्राउ गरिएको प्रदेश प्रहरी प्रवक्ता राजेन्द्रसिंह खड्काले बताए ।
उनले भने, ‘६ महिनामा अवैध घरेलु मदिरा २२ हजार १९८ लिटर बरामद गरी नष्ट गरेका छौँ । अवैध जुवातास खेल्ने ११ वटा स्थानबाट ८४ जनालाई पक्राउ गरी कारबाही गरिएको छ ।’
१४१ फरार अभियुक्त पक्राउ
विभिन्न मुद्दाका फरार अभियुक्त १४१ जनालाई पक्राउ गरी कुल ७३ वर्ष ९ महिना २८ दिन कैद सजाय भुक्तान र १६ लाख १० हजार ८९० रुपैयाँ जरिमाना संकलन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
लागूऔषध दुव्र्यसन तथा अवैध बेचबिखन गर्ने गत वर्षको ६ महिनामा ३५ जना रहेकामा यो वर्ष ९० जनालाई पक्राउ गरी ५९ ग्राम ३३३ मिलिग्राम ब्राउन सुगर, १ किलो २१३ ग्राम चरेश बरामद गरी कारबाही गरिएको छ ।
ट्राफिक दुर्घटना दर न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक कार्यक्रम ७६७ पटक सञ्चालन गरी कुल ६६ लाख ९ हजार ७९० जना लाभान्वित भएका छन् । सवारी दुर्घटना २०३ वटा भएका छन् । सवारी दुर्घटनामा परी मृत्यु ११८ जना र घाइते ५१५ जना भएका छन् ।
ट्राफिक नियम उल्लंघनविरुद्धको कारबाही संख्या २० हजार ५०१ वटा रहेको छ । यसबाट राजस्व संकलन १ करोड ७१ लाख ९७ हजार ५ सय रुपैयाँ भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न जिल्लामा विविध किसिमका लागूऔषध, घरेलु हिंसा न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम ३ हजार ५७९ वटा भएका छन् । यसबाट लाभान्वित ३ लाख ४९ हजार ३७९ जना रहेको प्रहरीले बताएको छ ।
गत आवको यस अवधिमा अवैध भन्सार छलीका सामान बरामद नभएको र चालू आर्थिक वर्ष ०७८÷७९ को ६ महिनामा १ लाख ३४ हजार ५६४ रुपैयाँ बराबरको लत्ताकपडा, सुर्तीजन्य, खाद्यान्न र ११ जनालाई अवैध भन्सार छलीका सामानसहित पक्राउ गरी राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रदेश प्रहरीले जनाएको छ ।
अवैध वन्यजन्तु तथा वन पैदावार चोरी निकासी बरामद ओखेटोपहार र वन पैदावारको विवरणमा २७३ दशमलव ६९ क्युफिट काठ, यार्सागुम्बा ५ किलो ३ सय ग्राम, रेडपान्डाको छाला ४ थान, कस्तुरीको बिना ४ थान, सालकको खप्पर १ थान र १८ जनालाई पक्राउ गरिएकामा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ ।
अवैध जडीबुटी जटामासी ५ बोरा, कटुकी १३ बोरा, खिरौला १२ बोरा र जिम्बु ३०१ किलो बरामद गरिएको छ । नदीजन्य तथा खानीजन्य प्राकृतिक स्रोतको गैरकानुनी उत्खनन तथा ओसारपसार गर्ने सवारी साधन ५८ वटा, ५१ जनालाई नियन्त्रणमा लिई २ लाख ४० हजार ५७० रुपैयाँ राजस्व संकलन गरिएको छ ।
प्रहरी कर्मचारी परिवार, पूर्वप्रहरी कर्मचारी र सर्वसाधारण र मुगुका अग्निपीडितलाई लक्षित गरी कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र सुपथ मेडिकल हलको समन्वयमा २ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री कालीकोट र मुगुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रदेश प्रहरीले जनाएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत तपार्इंको मास्क खोइ ? कार्यक्रम कर्णाली प्रदेशका १० जिल्लामा सञ्चालन भइरहेका छन् ।