close

काभ्रेमा अत्यावश्यकबाहेकका सेवा बन्द

काभ्रेमा अत्यावश्यकबाहेकका सेवा बन्द

Trulli
ADVERTISEMENT

काभ्रे–जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कोरोनाबाट कार्यालयका कर्मचारी संक्रमित भएपछि ६ दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने गरेको छ ।

 

सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारद्वारा जारी सूचनामा ९ देखि १४ माघसम्म सेवा प्रवाह स्थगित गरिएको उल्लेख छ । संक्रमित कार्यालयका कर्मचारी सुरक्षित होम आइसोलेसनमा रहेकाले अत्यावश्यक सेवाबाहेक नयाँ नागरिकता वितरण, प्रतिलिपि नागरिकता वितरण, संघ–संस्था तथा हातहतियारसम्बन्धी कार्य, नाबालक परिचयपत्र, राहदानी, राष्ट्रिय परियचपत्रको सेवा बन्द गरिएको सूचनामा जनाइएको छ । 

 

जनप्रतिनिधि तथा कर्मचारी संक्रमित भएपछि नमोबुद्ध नगरपालिका, चौँरीदेउराली गाउँपालिका र रोशी गाउँपालिकाले अत्यावश्यकबाहेकका सेवा अनिश्चितकालीन कटौती गरेका छन् । 

 

नमोबुद्ध नगरले सूचनामार्फत जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएकाले शुक्रबारदेखि अनिश्चतकालीन सेवा कटौती गरेको जनाएको छ । नगरका उपसचिव जनार्दन रिजालले कोरोना सङ्क्रमणको जोखिमका कारण नगरबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको सूचनामा उल्लेख गरेका छन् । 

 

यस्तै, रोशी गाउँपालिकाले आफ्ना कर्मचारी कोरोना संक्रमित भएपछि बिहीबारदेखि अर्को सूचना जारी नभएसम्म सेवा कटौती गरेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर लामाद्वारा जारी सूचनामा केही कर्मचारी ‘कन्ट्याक ट्रेसिङ’मा रहेकाले जोखिमपूर्ण अवस्थामा सेवा प्रभावित हुने भएकाले अत्यावश्यकबाहेकका सेवा स्थगन गरिएको जनाइएको छ । 

 

चौँरीदेउराली गाउँपालिकाले बुधबारदेखि एक साताका लागि स्वास्थ्य र आकस्मिक सेवाबाहेक प्रशासनिक काम बन्द गरेको छ । सेवा कटौती गरेको नमोबुद्ध नगरमा हाल ३७ महिलासहित ७६ कोरोना संक्रमित छन् । रोशी गाउँपालिकामा हाल दुई महिलासहित चार तथा चौँरीदेउरालीमा १७ महिलासहित ३१ संक्रमित छन् ।

 

यसैबीच काभ्रेपलाञ्चोकमा पछिलो २४ घन्टामा २५१ मा कोरोना संक्रमण देखिएको छ । अघिल्लो दिन १७३ मा संक्रमण देखिएको थियो । जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) का अनुसार हालसम्म १५ हजार ९५२ संक्रमण देखिएकामा १९४ को मृत्यु भएको छ । हाल जिल्लाको १३ स्थानीय तहमा एक हजार ४३ सक्रिय संक्रमित छन् ।

 

तेस्रो लहरमा काभ्रेपलाञ्चोकमा एक संक्रमितको मृत्यु भएको छ । हालसम्म कुल संक्रमितमध्ये ९२ दशमलव २४ प्रतिशत अर्थात् १४ हजार ७१५ संक्रमणमुक्त भएका हुन् ।