close

१५१ स्थानीय तहमा मात्रै बालकोष स्थापना

१५१ स्थानीय तहमा मात्रै बालकोष स्थापना

Trulli
ADVERTISEMENT

काठमाडौं– मुलुकभरका ७५३ मध्ये हालसम्म १५१ स्थानीय तहले मात्र बालकोष स्थापना गरेको राष्ट्रिय बाल अधिकार परिषद्ले जनाएको छ । विभिन्न विपद् र महामारीमा बालबालिकाको आपतकालीन उद्धार तथा सहायता दिने बालकोष स्थापना गर्ने स्थानीय तहको संख्या न्यून रहेको हो ।

 
बालबालिकासम्बन्धी ऐन, २०७५ द्वारा निर्देशित बुँदामध्ये स्थानीय तहमा बालहितका प्रयोजनले बालकोष स्थापना गर्नुपर्ने प्रावधान छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको परिपत्र र परिषद्ले प्रदान गरेको अनुशिक्षण कार्यक्रमपछि स्थानीय तहले बालबालिकासँग प्रत्यक्ष सरोकार राख्ने बालकोषलगायत बाल संरक्षण अधिकारी र कार्यविधि बनाउन तत्परता देखाउने क्रम बढेको परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बताए ।

 

परिषद्को मंसिरसम्मको तथ्यांकअनुसार बालकोषको व्यवस्थापन गरिएका स्थानीय तहमध्ये बागमती प्रदेशअन्तर्गतका ६३ स्थानीय तह छन् । हालसम्म बालकोष स्थापना गर्ने प्रदेशमध्येमा बागमती प्रदेश अगाडि छ ।


त्यसैगरी प्रदेश १ मा २७, सुुदूूरपश्चिम प्रदेशमा १६, प्रदेश २ मा ९, गण्डकी प्रदेशका १२ स्थानीय तहले बालकोष स्थापना गरेका छन् । लुम्बिनी प्रदेशमा १३ र कर्णाली प्रदेशका ११ वटा स्थानीय तहमा बालकोष निर्माण गरी आवश्यकताअनुसार परिचालन गर्न थालेका छन् । 

 

बाल अधिकार ऐन कार्यान्वयन गर्ने क्रममा २०९ वटा स्थानीय तहमा बाल संरक्षण कार्यविधि तयार भएको छ । बागमती प्रदेशमा ६६, प्रदेश १ मा ६५, प्रदेश २ मा २३ वटा स्थानीय तहमा बाल संरक्षण कार्यविधि निर्माण भएका छन् ।

 

त्यसैगरी गण्डकी ८, लुम्बिनीमा १४, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिममा १७ वटा स्थानीय तहमा बाल संरक्षण कार्यविधि निर्माण गरी लागू गरिएको छ । १५१ स्थानीय तहमा बाल संरक्षण अधिकार समिति गठन भएको छ । बाल अधिकार समिति प्रदेश १ मा २७, प्रदेश २ मा २१, कर्णाली प्रदेशमा १६, बागमती प्रदेशमा ५७, गण्डकीमा १२, लुम्बिनी प्रदेशमा ८ र सुदूरपश्चिममा १० वटा स्थानीय बाल अधिकार समिति गठन भएका छन् । 


यसका साथै ७० स्थानीय तहमा बाल कल्याण अधिकारी तोकिएका छन् । बाल कल्याण अधिकारी तोकिएका स्थानीय तहमा प्रदेश १ मा ९, प्रदेश २ मा ११, बागमती प्रदेशमा २५, लुम्बिनी प्रदेशमा ४, गण्डकीमा ५, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिममा ५ स्थानीय तहमा बाल कल्याण अधिकारी नियुक्त गरिएको परिषद्ले जनाएको छ ।


बालबालिकासम्बन्धी ऐनले बालबालिकाको अधिकारको सम्मान, संरक्षण र संवद्र्धन गर्न तथा बाल संरक्षण कार्य गर्न स्थानीय तहमा एक जना बाल कल्याण अधिकारी रहने उल्लेख छ । त्यसैगरी ६३ मा बालबालिकालाई तत्काल उद्धार, राहत र पुनस्थार्पना गर्न तथा क्षतिपूर्ति प्रदान गर्न बालकोष रहने व्यवस्था छ । परिषद्ले बाल अधिकार संरक्षणका लागि स्थानीय तहमा नीतिगत व्यवस्थासहित संयन्त्र निर्माणका लागि आवश्यक छलफल, अनुशिक्षण आयोजना गर्दै आएको छ ।

 

नेपालको समग्र क्षेत्रका बालबालिकाको हक अधिकारको संवद्र्धन तथा बाल संरक्षणका लक्ष्य हासिल गर्न उक्त संयन्त्र अन्य स्थानीय तहले पनि गठन गर्नुपर्ने परिषद्ले जनाएको छ ।