close

मोबाइल एसोसिएसन मकवानपुरको सामसुङ सर्भिसमा तालाबन्दी

मोबाइल एसोसिएसन मकवानपुरको सामसुङ सर्भिसमा तालाबन्दी

Trulli
ADVERTISEMENT

हेटौंडा–मोबाइल एसोसिएसन अफ नेपाल (म्यान) मकवानपुरले हेटौंडा उपमहानगर वडा नम्बर ४ स्थित नारायणी महलमा रहेको सामसुङ सर्भिसमा तालाबन्दी गरेको छ । हिम इलोक्ट्रोनिक्सका बजार प्रतिनिधि उमेश थापाले म्यान मकवानपुरलाई सामाजिक सन्जालमा मानहानि गर्दै आफूलाई ज्यान मार्नेसम्मको धम्की दिएपछि सामसुङ सर्भिसमा तालाबन्दी गरेको म्यान मकवानपुरका अध्यक्ष दिनेश लामाले बताए ।

 

अध्यक्ष लामाले म्यानले एक महिनाअघि हेटौंडा वडा नम्बर १० स्थित शिव मोबाइल र इलेक्ट्रोनिक्सका प्रतिनिधिबीचको विवाद साम्य पार्न इलेक्ट्रोनिक्सका बजार प्रतिनिधि थापाले सामाजिक सन्जालमार्फत म्यानको मानहानि गर्दै अनावश्यक टीकाटिप्पणी गरेको उनले जानकारी दिए ।

 

मोबाइलका प्रतिनिधिले दिएको निवेदनमा म्यानले दुवै पक्षलाई राखेर विवाद मिलाउने क्रममा बजार प्रतिनिधि थापाले म्यानको मानहानि गरेपछि सामसुङ सर्भिसमा तालाबन्दी गर्नुपरेको दाबी गरे ।

 

तालाबन्दी गर्नु केही साताअघि सामसुङ कम्पनीलाई मेलमार्फत घटनाक्रम जानकारी गराए पनि कम्पनीले समस्या समाधानतर्फ नगई बजार प्रतिनिधिलाई तलमाथि भएको अवस्थामा म्यानले जिम्मेवारी लिनुपर्ने जवाफ दिएपछि समस्या समाधानका लागि तालाबन्दी गर्नुपरेको उनको भनाइ छ ।

 

म्यानविरुद्ध मानहानि गर्ने थापालाई हेटौंडाबाट सरुवा गर्नुपर्ने र सामसुङ कम्पनीले लिखित माफी माग्नुपर्ने आफूहरूको माग रहेको उनले बताए । कम्पनीले लिखित माफी नमागे जिल्लामा सामसुङ मोबाइल प्रतिबन्ध गर्ने चेतावनी दिए ।

 

अध्यक्ष लामाले ४८ घन्टाभित्र चित्तबुझ्दो जवाफ नआए जिल्लाभित्रको सामसुङ मोबाइल बिक्री प्रतिनिधि तथा बजार प्रतिनिधि वहिष्कार गरिने जानकारी दिए । तेस्रो चरणमा सामसुङ मोबाइल एक साताका लागि सबै पसलमा डिस्प्ले बन्द गरिने उनको भनाइ छ । दुई चरणको आन्दोलनसम्म पनि समस्या समाधान नभए पुनः कार्यसमिति बैठक बसेर तेस्रो चरणको कार्यक्रम सार्वजनिक गरिने उनले बताए ।

 

तालाबन्दी गर्नुअघि म्यान जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ध्यानाकर्षण पत्रसमेत बुझाइएको थियो । तालाबन्दी कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका तेजराज अधिकारी, व्यवसायी महेन्द्र राउत, म्यान मकवानपुरका पदाधिकारीलगायत करिब १ सय मोबाइल व्यवसायी सहभागी थिए ।

 

यसैबीच नेपाल मोबाइल व्यवसायी महासंघले म्यान मकवानपुर र हिम इलेक्ट्रोनिक्सका कर्मचारीबीचको विवादप्रति ध्यानाकर्षण भएको बताएको छ । महासंघले दुई पक्षबीचको विवादलाई वार्ताका माध्यमबाट समाधान गर्न पनि आग्रह गरेको छ ।