close

लाइसेन्सको ट्रायलमा आफ्नै सवारीसाधन चलाउने व्यवस्था

लाइसेन्सको ट्रायलमा आफ्नै सवारीसाधन चलाउने व्यवस्था

Trulli
ADVERTISEMENT

उदयपुर– यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले यसअघि सवारी अनुमतिपत्र (लाइसेन्स) निकाल्न प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा आफ्नो गाडी (साधन) प्रयोग गर्न नपाउने नीति परिवर्तन गर्न तयारी थालेको छ । हालसम्म ट्रायल सेन्टर सञ्चालन गर्ने निजी कम्पनीकै साधन चलाएर ट्रायल दिनुपर्ने नियम संशोधन गर्दै कार्यालयले आफ्नै साधन चलाउने व्यवस्था गर्ने भएको हो ।

 

आफ्नो गाडी हुँदाहुँदै कम्पनीकै गाडी चलाउनुपर्ने नियमको चौतर्फी विरोध भएपछि प्रदेश भौतिक तथा पूर्वाधार यातायात मन्त्रालयले नियम संशोधन गर्न मिल्ने भए सच्याउने निर्देशन दिएको थियो । सिरहाको लहानलगायत अन्य ठाउँबाट ट्रायल दिँदा आफ्नै साधन प्रयोग गर्न दिने गरे पनि उदयपुरमा ट्रायल सेन्टरकै सवारीसाधन चलाउनुपर्ने बाध्यताले धेरै परीक्षार्थी अनुत्तीर्ण भएपछि मन्त्रालयले आफ्नै साधन प्रयोग गर्न दिने भएको हो । 

 

मन्त्रालयको निर्देशनपछि आफ्नै साधन प्रयोग गर्न दिने विषयमा आन्तरिक छलफल थालिएको कार्यालय प्रमुख सुभास कार्कीले बताए । सेवाग्राहीको सुझाव र मन्त्रालयको निर्देशनअनुसार गर्न सकिने÷नसकिने भन्ने विषयमा छलफल गरिने उनको भनाइ छ । उनका अनुसार ट्रायलमा प्रयोग हुने सवारीसाधनको बिमा, ब्लुबुक अनिवार्य नवीकरण भएको हुनुपर्ने, सवारी साधनको अवस्था प्राविधिकले जाँच गरेर प्रमाणित गर्नुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ ।

 

निर्देशिकामा समेटिएको व्यवस्थाअनुसार गर्नुपर्ने हुँदा मन्त्रालयले निर्देशन दिए पनि तत्काल कार्यान्वयनमा ल्याइहाल्न केही कानुनी समस्या रहेको कार्कीले बताए । परीक्षार्थीले आफ्नै साधन प्रयोग गर्न पाउने व्यवस्थाले ट्रायल सेन्टरमा सवारी चाप हुने हुँदा पार्किङ समस्या थपिने उनको बुझाइ छ । 


प्रदेश सरकारले ट्रायल सेन्टरले लिँदै आएको शुल्क पनि घटाउन निर्देशन दिएको छ । मन्त्रालयले ट्रायल सेन्टर सञ्चालकलाई विद्यमान शुल्क घटाउन निर्देशन दिएको हो । दुई पांग्र्रेका परीक्षार्थीलाई भ्याटबाहेक २ सय ४० र चार पांग्र्रेका लागि ५ सय ४० रुपैयाँ शुल्क लिइँदै आएको थियो । त्यसमा भ्याट थप्दा दुई पांग्रे परीक्षार्थीले २ सय ७२ र चार पांग्रेले ६ सय ११ रुपैयाँ तिर्नुपथ्र्यो ।

 

संशोधित नियमअनुसार दुई पांग्रेंलाई भ्याटसहित २ सय २० रुपैयाँ ३५ पैसा र चार पांग्रेलाई ५ सय तोकिएको छ । प्रदेश मन्त्रालयले हाल त्रियुगा नगरपालिका वडा नम्बर ९ गैरुनस्थित निजी जग्गामा रहेको ट्रायल सेन्टर हटाएर सरकारी जग्गामा सार्न निर्देशन दिएको छ । 

 

त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजलेस्थित सरकारी जमिनमा ट्रायल सेन्ट बनाउने तयारी थालिएको छ । ट्रायल सेन्टर बनाउन त्रियुगा नगरपालिकाले जलजलेमा २ बिघा १० कठ्ठा ऐलानी जमिन यातायात व्यवस्था सेवा कार्यालयलाई उपलब्ध गराएको छ । त्यहाँ ट्रायल सेन्टर बनाउन प्रदेश भौतिक पूर्वाधार तथा यातायातमन्त्री हिमाल कार्कीले स्थलगत अनुगमनसमेत गरिसकेका छन् ।