काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले तोकिएको कार्य समयमै सम्पन्न गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएकी छन् । मन्त्रालयमा आयोजित राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कर्मचारीसँगको छलफलमा मन्त्री श्रेष्ठले काम गर्दा केही नीतिगत र कानुनी समस्या भए त्यसको समाधानका लागि मन्त्रालयमा जानकारी गराउन आग्रह गरिन् ।
मन्त्री श्रेष्ठले यो वा त्यो वहाना देखाएर काम पन्छाउने नपाइने भन्दै भूमिसम्बन्धी समस्या समाधान गर्न बनाइएको कार्ययोजनाअनुसार जतिसक्दो छिटो र परिणाम निस्कने गरी काम गर्नसमेत निर्देशन दिइन् । बैठकमा राष्ट्रिय भूमि आयोगको हालसम्मको प्रगति समीक्षा र आगामी कार्ययोजनाका विषयमा छलफल भएकोे थियो ।
छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले कार्य सम्पादनमा प्रभावकारिताका लागि मन्त्रालय सबै किसिमले सहयोग गर्न तयार रहेको बताए । आयोगका अध्यक्ष केशव निरौलाले आयोगले पूर्णता पाएको दिनदेखि नै प्रभावकारी काम गर्दै आएको र सरकारले जुन उद्देश्य, लक्ष्य र प्राथमिकताका साथ जिम्मेवारी दिएको छ, त्यो पूरा गर्न तत्पर रहेको जानकारी दिए ।
आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले अघिल्लो आयोगले गरेको कामको स्वामित्व ग्रहण गर्दै परिवर्तित सन्दर्भअनुसार छिटो र प्रभावकारी रूपमा काम सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए ।