कैलाली– कैलालीको अत्तरियामा खुला स्थान अभाव हुँदा मेला, महोत्सव सञ्चालन गर्न सधैँ सास्ती हुने गरेको छ । प्रदेश राजधानी घोषणा भएको यस क्षेत्रमा कार्यक्रम, महोत्सव गर्न खुला ठाउँ अभाव देखिँदै आएको हो ।
खुला ठाउँ अभावमा यो वर्ष पनि अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सव सञ्चालनका लागि स्थल नपाएर सास्ती खेप्नुपरेको छ । संघले २७ पुसदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सञ्चालन गर्ने बताएको छ ।
विगत वर्षमा अत्तरियाको लामिताल परिसरमा महोत्सव गर्दै आएको संघले यो वर्ष अत्तरियाकै दुर्गा मन्दिर पछाडिको जग्गामा गरिन लागेको जनाएको छ । तर, सो क्षेत्रको जग्गा दलदल हुँदा महोत्सवका लागि आवश्यक सामाग्री ढुवानीमै समस्या भएपछि पुनः लामिताल परिसरमै गर्ने तयारी छ ।
‘पहिले महोत्सव गरेको स्थान लामिताल परिसरमा पानी जमेपछि यो वर्ष दुर्गा मन्दिर पछाडिको भागमा महोत्सव गर्ने भनेका थियौँ,’ अत्तरिया उद्योग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले भने, ‘दुर्गा मन्दिर पछाडिको भाग पनि दलदल रहेछ । त्यहाँ महोत्सवका लागि आवश्यक उपकरण लैजाने गाडी धस्न लागे ।’
उनले विगतमा महोत्सव आयोजना गरेको लामिताल परिसरमा पानी जमे पनि तालदेखि केही तल दक्षिणपट्टिकै ठाउँमा सञ्चालन गरिन लागेको बताए ।
यो स्थान नेपाली सेना र दुर्गालक्ष्मी सामुदायिक वनले आ–आफ्नै भएको दाबी गर्दै आएका छन । महोत्सव गरेको पुरानो ठाउँमा केही खुला भाग र तालसँगै जोडिएको थियो ।
यो क्षेत्रमा सालका पुराना ठूला–ठूला रुख छन् । रुखकै बीचमा महोत्सव आयोजना गरिने भएकाले जंगलमा राखिएको भनेर टिप्पणी हुँदै आएको छ ।
उद्योग वाणिज्य संघले महोत्सवमार्फत बर्सेनि यस क्षेत्रको विकासका लागि विभिन्न माग उठाउँदै आएको छ । यो वर्ष भने उद्घाटन सत्रमा महोत्सव स्थलको मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी छ ।
संघका महासचिव जोशीले अत्तरियामा महोत्सव गर्न सधैँ स्थान अभाव भएकाले त्यसलाई मुख्य मागको रूपमा उठाइने जानकारी दिए ।
‘यो पालिको महोत्सवको मुख्य एजेन्डा नै खुला मैदान चाहियो भन्ने हो’, उनले भने, ‘यसका लागि गोदावरी नगरपालिकाले लामिताल परिसरमै व्यवस्थित खुला कार्यक्रम स्थल निर्माण गरिदिए सहज हुन्थ्यो ।’
लामिताल परिसरमा खुला कार्यक्रम स्थल निर्माण गरिए यसले तालको पर्यटकीय विकासमा पनि मद्दत पुग्ने उनको दाबी छ । खुला कार्यक्रम स्थल निर्माण गरिए महोत्सव आयोजना गर्न पनि बर्सेनि जग्गा खोज्दै भौतारिनु नपर्ने उनको भनाइ छ ।
अत्तरियामा ०७२ देखि महोत्सव हुँदै आएको छ । सुरुमा अत्तरियाको पूर्व रोड किनारमा महोत्सव आयोजना गरिएको थियो । सडक किनारमा महोत्सव व्यवस्थापन गर्न असहज हुन थालेपछि लामिताल परिसरमा गरिँदै आएको छ ।
महोत्सव सञ्चालन हुने मिति आउन १० दिन बाँकी रहँदा उद्योग वाणिज्य संघले तयारी तीव्र पारेको छ । हाल नयाँ छनोट गरिएको महोत्सव स्थलमा जग्गा सम्याउने र घेराबार गर्ने काम चलिरहेको अत्तरिया उद्योग वाणिज्य संघका कार्यालय प्रमुख गम्भीर साउदले जानकारी दिए ।
उनले जग्गामा घेराबार गरेपछि स्टल निर्माण काम सुरु गरिने बताए । महोत्सव स्थलमा उत्तरपट्टि मञ्च निर्माण गरिनेछ । यो वर्ष महोत्सवमा १५० स्टलले सहभागिता जनाउनेछन् । १ लाखले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सव कोरोना महामारीका कारण २ वर्षदेखि हुन सकेको थिएन ।