close

सुक्खा पहिरोको चपेटामा तुँखाको याखा गाउँ

सुक्खा पहिरोको चपेटामा तुँखाको याखा गाउँ

Trulli
ADVERTISEMENT

धनकुटा–चुरे पहाडको फेदीमा रहेको तुँखाको याखा गाउँ सुक्खा पहिरोले चिराचिरा परेको छ । पहिरोले जमिन चर्किंदा गाउँलेहरूको रात नसुतेरै बित्ने गरेको छ । गाउँमा अहिले १ फुटदेखि १ मिटर सम्मका सयौँ मिटर लामो जमिन फाटेका धर्सा देखिन थालेका छन् । पहिरोले पुराना, बनाउँदै गरेका घरका आँगन चिराचिरा परेर फाट्न थालेका छन् । 

 

पोलमा टाँगिएका बिजुलीका तारसमेत चुँडिन थालेका छन् । बाटो, बारीका डिल भासिएर त्यहाँ लगाएका सुन्तला, अलैँची तलतिर सर्न थालेका छन् । खेतीपातीका लागि जोत्दै गरेका खेतबारी आधा काम गरेर स्थानीयले त्यत्तिकै छाडेका छन् । हिउँदको समय अचानक मूल फुटेर नजिकै बग्ने खोल्सामा सफा पानीको ठाउँमा लेदोसहितको सेतो धमिलो पानी बग्न थालेको छ । 

 

सोही कारण धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित वडा नम्बर ५ मा रहेको तुँखा गाउँका ७० बढी घरपरिवार त्रासमा बाँचिरहेका छन् । मोरङ र धनकुटाको सिमानामा अवस्थित भेडेटार राजारानी चुरे खण्डको डाँडाबजारबाट २ किमि दक्षिण पूर्वमा रहेको धनकुटाको यो गाउँ गत ६ असोजको बर्खापछि सामान्य चर्किएको थियो ।

 

०७४ बाट हिउँदको समय अचानक ठाउँ–ठाउँमा सेतो लेदोसहितको पानीको बग्दै आएको यो ठाउँमा गाउँलेले असोजमा परेको मुसलधारे पानीले केही जमिन चर्किए पनि सामान्य रूपमा लिए ।  तर, ३/४ दिनयता अचानक ठूलो आवाजसहित जताततै जमिन चिरा पर्न थालेपछि तुंखा गाउँमा त्रासको वातावरण सिर्जना भएको तँुखा गाउँका गंगाप्रसाद याखाले जानकारी दिए ।

 

‘राती अचानक ठूलो आवाज आयो,’ उनले भने, ‘एकछिन त के भएको हो थाहा भएन । तर, पछि हेर्दा घरको आँगनमा चिरा परेको रहेछ ।’ घर, आँगन र खेतबारी चिरा पर्न थालेपछि गाउँलेहरू रातभरि राम्ररी सुत्न नसकिरहेको उनले जानकारी दिए । 

 

०७४ बाट हिउँदको समय पटक–पटक गाउँमा हरेक वर्ष धमिलो सेतो पानीको मुहान निस्किएर सामान्य जमिन फाटे पनि यसपटक भने बस्ने अवस्था नभएको उक्त गाउँका अर्का पीडित विष्णुप्रसाद याखाले बताए । ‘घर, आँगन चिरा परेपछि कतिपय गाउँले आफन्त र घर भाडा लिएर बस्न थालेका छन्,’ उनले भने । याखा जातिको बाहुल्य रहेको यो गाउँमा अहिले खेतीपाती लगाउने/नलगाउने भन्नेमा स्थानीय अन्योलमा छन् ।

 

आफूहरूको अन्यत्र कतै जमिन नभएकाले पहिरोले बग्दै गरेको जमिन र घरमा बाध्यताले बस्नुपरेको तुंखा लालेटोलकी ५९ वर्षीया धनकुमारी याखाले गुनासो गरिन् । ‘दिउँसै कतिबेला बगाउने हो थाहा छैन,’ उनले भनिन्, ‘कति दिन बस्नु राती जाग्राम ? निद्रा लागेछि मर्न डरै हुँदो रहेनछ ।’

 

गाउँमा जोखिम भए पनि स्थानान्तरणका लागि केही गर्न नसकेको वडाध्यक्ष पलकबहादुर बस्नेत बताउँछन् । यहाँका मानिसको बसाइँसराइ जाने ठाउँ नभएको एवं यही बसेर गरिखान र बालीनाली लगाउने अवस्थासमेत नभएको उनले बताए । ‘समस्या समाधान गर्न यो कुरा केन्द्रीय सरकारसम्म पुर्‍याइदिनुपर्‍याे,’ उनले भने । पहिरोका कारण तँुखा गाउँका ७० बढी बढी घरको खेतीयोग्य जमिन पहिरोको चपेटामा परेको अध्यक्ष बस्नेतले जानकारी दिए ।राज्यले तत्काल भू–गर्भविद् पठाएर यो ठाउँको परीक्षण गरी उद्धार गर्नुपर्ने गाउँलेको माग छ ।