रूपन्देही– बालबालिकाको आपतकालीन उद्धार, राहत, संरक्षण तथा परामर्श सेवाका रूपन्देहीको तिलोत्तमा नगरपालिकामा बाल हेल्पलाइन नेपाल १०९८ को सेवा सुरु भएको छ । सिविन नेपालले सञ्चालनमा ल्याएको बाल हेल्प लाइन सेवाको प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले उद्घाटन गरिन् ।
यस क्षेत्रमा सेवा दिने गरी तिलोत्तमा नगरपालिकाको मणिग्राममा बाल हेल्पलाइन नेपालको कार्यालय सञ्चालनमा आएको हो । यसबाट जुनसुनै स्थानका बालबालिका वा अन्यले मोबाइल अथवा टेलिफोनबाट १०९८ मा फोन गरी आफ्नो समस्या राख्न सक्नेछन् । टोल फ्री नम्बरको १०९८ हेल्प लाइन सञ्चालनले बालबालिकाको आपतकालीन उद्धार, राहत, संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले बालमैत्री नगरपालिकालाई दिगो बनाउन हेल्पलाइनले महत्त्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे । ५१ वटा सूचक पूरा गर्दै तिलोत्तमा नगरपालिका गत २९ मंसिरमा बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा भइसकेको छ । हेल्पलाइन सञ्चालन अवसरमा सरोकारवालाका साथै तिलोत्तमाका जनप्रतिनिधि, बाल समूह सञ्जालका पदाधिकारी तथा सदस्य, विभिन्न विद्यालयका प्रअलगायत सहभागी थिए ।