काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले भूकम्पका कारण क्षति भएका ऐतिहासिक सम्पदाको पुनःनिर्माण कार्य काठमाडौँ महानगरपालिकाको मुख्य दायित्वको रूपमा रहेको बताएका छन् ।
बुधबार २७ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सम्पदा नै काठमाडौँको गहना रहेको भन्दै यसको पुनःनिर्माण र संरक्षण गर्नुपर्ने बताए । मन्त्री श्रेष्ठले हरेक वर्ष ठूलो समस्याको रूपमा रहेको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्यको शीघ्र समाधान गर्न पनि कामपाले अग्रसरता लिनुपर्नेमा जोड दिए ।
उनले कर्मचारी र जनप्रतिनिधिलाई अन्य स्थानीय तहलाई पनि सिकाइ हुने गरी उदाहरणीय काम गर्न आग्रह गरे । मन्त्री श्रेष्ठले भने, ‘अग्रपङ्क्तिमा काम गर्नेलाई बुस्टर डोज र यसअघि एक पटक पनि कोरोनाविरुद्धको खोप नलगाएका नागरिकलाई आगामी चैत महिनासम्मा सरकारले खोप लगाउने तयारी गरेको छ ।’
कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले मेघा हल निर्माण, मोनो रेल सञ्चालन र तीनकुनेको बुद्धपार्क निर्माणका लागि केन्द्र सरकारको पनि सहयोग आवश्यकता पर्ने हुँदा काम अघि बढ्न नसकेको जानकारी दिए । उनले भने, ‘कामपाले गोर्खा भूकम्पका कारण क्षति भएका ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा ठूलो फड्को मारेको छ ।’ हाल विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको पनि बताइएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेका छन् ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्ययममा कार्यरत १० जना पत्रकारलाई जनही ५० हजारका दरले सुशासन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो भने अन्य विभिन्न विधाका करिब २०० लाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो ।