बाजुरा– बाजुराको उत्तर पूर्वी क्षेत्रमा ३ दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । कोल्टी क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा सेवाग्राही मर्र्कामा परेका छन् ।
कालाजग्रास्थित नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ परेपछि सेवा अवरुद्ध भएको टेलिकम जिल्ला शाखा बाजुराले जनाएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा कोल्टीमा बैंकिङ गतिविधिलगायत सम्पूर्ण कामकाज ठप्प भएका छन् । फोन र नेट दुवै सेवा बन्द हुँदा सरकारी तथा गैरसरकारी संस्थाको कामकाज प्रभावित भएको छ ।
टेलिकम बाजुराका अनुसार काठमाडौंबाट सामान मगाउनुपर्ने भएकाले सञ्चालनमा ल्याउन ढिलाइ भएकोे छ । डडेल्धुराबाट प्राविधिक टोली आइसकेको र सामान बाटोमा रहेकाले सोमबार बेलुकीसम्म सेवा सञ्चालनमा आउने बताइएको छ ।
सदरमुकाम मार्तडी क्षेत्रमा सञ्चालनमा रहेको इन्टरनेट सेवासमेत गुणस्तरीय नहुँदा दैनिक कामकाजमा समस्या हुने गरेको गुनासो बारम्बार आउने गरेको छ । दुई साताअघि मात्रै जिल्लास्थित सञ्चारकर्मीले इन्टरनेट सेवालाई गुणस्तरीय बनाउन माग गर्दै टेलिकम शाखा बाजुरा र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।
बेलाबेला बाजुरामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा पनि दिगो व्यवस्थापनका लागि कसैको ध्यान जान सकिरहेको छैन । देशका अन्य ठाउँका नागरिकले फोरजी सेवा उपभोग गर्न पाए पनि राम्रोसँग फोनसमेत गर्न नपाएको बाजुराबासीको गुनासो छ ।