सप्तरी–सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ स्थित २ वटा स्कुलको भवन निर्माणका लागि उपभोक्ता समिति गठन मनोमानी भएको पाइएको छ । महादेवा गाउँपालिका वडा नम्बर १ नरबहादुर थापा जनता मावि पकरीगोठ सोनरा र सोनरा राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माण गर्न प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको संसदीय विकास कोषबाट ८० लाख रुपैयाँ छुट्याइएको छ ।
४ कोठे भवन निर्माण गर्न उपभोक्ता समिति गठनमा मन्त्रीका आफन्त, नातागोता र पार्टी कार्यकर्तालगायतलाई राखिएको हो । २ वटै विद्यालयमा ८० लाख रुपैयाँको भवन निर्माणका लागि स्थानीय सञ्चार माध्यममा कुनै सूचना प्रकाशन तथा प्रसारण नगरी गोप्य ढंगबाट उपभोक्ता समिति गठन गरिएको स्थानीयले बताए ।
वडा नम्बर १ स्थित नरबहादुर थापा जनता मावि पकरीगोठ सोनरा र सोनरा राष्ट्रिय प्राथमिक विद्यालय निर्माण गर्न मन्त्री साहको संसदीय विकास कोषबाट पकरी माविमा २ कोठे भवनका लागि ५० लाख र सोनरा प्राविका निम्ति ३० लाख रुपैयाँको २ कोठे भवन निर्माण गरिन लागेको छ ।
ती भवन निर्माणका लागि उपभोक्ता समितिमा मन्त्रीका कार्यकर्ता, नातेदार र आफन्तलाई उपभोक्ता समितिमा राखिएको स्थानीय उपभोक्ता विद्यानन्द यादवले बताए । उपभोक्ता समिति गठनलगायत अन्य प्रक्रियाबारे पालिकामा कुनै जानकारी नआएको प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले जानकारी दिए । उपभोक्ता समिति गठन प्रक्रियालगायत अन्य कुरा त्रुटिपूर्ण रहेकाले सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीय रमेश यादवको भनाइ छ ।