close

भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम प्राथमिकतामा : अर्थमन्त्री शर्मा 

भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम प्राथमिकतामा : अर्थमन्त्री शर्मा 

Trulli
ADVERTISEMENT

काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम सरकारले नियमित कार्यक्रममा राखेर सम्पन्न गर्ने बताएका छन् । यसअन्तर्गत निजी आवासको काम चालू आर्थिक वर्षमा सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको जानकारी उनले दिए ।


राजधानीमा आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मलेनलाई बुधबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले ०७२ भूकम्पले भत्काएका स्वास्थ्य संस्था, विद्यालय, सरकारी र पुरातात्त्विक संरचना सरकारका नियमित कार्यक्रममा राखी प्राथमिकताका साथ सम्पन्न गरिने बताए ।

 

विपद् व्यवस्थापनसम्बन्धी कार्य विपद् व्यवस्थापन प्राधिकरणमार्फत सम्पन्न गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल सम्पन्न हुन गइरहेको सन्दर्भमा आयोजित सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले भूकम्पबाट क्षतिग्रस्त निजी तथा सार्वजनिक संरचना पुनर्निर्माणको अभियानसँगै मुलुकमा भौगर्भिक जोखिम भएका बस्ती स्थानान्तरणका लागि एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाइएको बताए ।


भूकम्पबाट क्षतिग्रस्त विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी एवं सार्वजनिक ऐतिहासिक र पुरातात्त्विक सम्पदा पुनर्निर्माणले विभिन्न ऐतिहासिक मठमन्दिर, धरहरा, रानीपोखरी, दरबार हाइस्कुलजस्ता गौरवपूर्ण सांस्कृतिक सम्पदा पुनर्निर्माण भएको उनले उल्लेख गरे । सफल पुनर्निर्माणले क्षतिग्रस्त संरचनाको निर्माण मात्र नभई त्यस क्रममा कार्य सम्पादनमा नेपालको निर्णय क्षमता र प्रविधि क्षेत्रको ज्ञानसमेत विकसित भएको उनको भनाइ छ ।


राजनीतिक दलहरूको संकल्प, सरकारको जिम्मेवारी र पुनर्निर्माणमा खटिएका जनशक्तिको लगनशीलताका कारण सफलता हात लागेको अर्थमन्त्री शर्माले बताए । उनले भूकम्पपछिको प्रतिकूल परिस्थितिमा संविधान निर्माणले पूर्णता पाउनुको साथै भूकम्पपछि भौतिक संरचना पुननिर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पनि गठन भएको र यसको कार्यकाल सन्तोषजनक रूपमा सम्पन्न भएको टिप्पणी गरे । 


दोस्रो संविधानसभाको निर्वाचनपछि संविधान निर्माणका लागि संसदमा बहस गरिरहँदा विनाशकारी भूकम्प आएर ९ हजारले ज्यान गुमाएका थिए भने २२ हजार घाइते भएका थिए । भूकम्पबाट १० लाखभन्दा बढी निजी घर, हजारौँ विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी संरचना र ऐतिहासिक तथा पुरातात्त्विक संरचना भत्किएका थिए ।