close

दर्ताबिनाका उपभोक्ता समितिबाट काम नगराउन स्थानीय तहलाई परिपत्र

दर्ताबिनाका उपभोक्ता समितिबाट काम नगराउन स्थानीय तहलाई परिपत्र

Trulli
ADVERTISEMENT

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा गठन भए पनि दर्ता नभएका उपभोक्ता समितिबाट काम नगराउन देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ । 

 

०७८ भित्र गठन भएका उपभोक्ता समिति संस्था दर्ता ऐन, २०३४ को दफा ३ अनुसार दर्ता भएको नपाइएकाले ती समितिलाई मान्यता दिन नसकिएको मन्त्रालयले जनाएको छ ।

 

उपभोक्ता समितिको सट्टा स्थायी संयन्त्रमार्फत नै काम गर्न स्थानीय तहलाई मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले स्थानीय तहलाई मंगलबार गरेको परिपत्रमा उपभोक्ता समिति स्थानीय स्तरमा सञ्चालित आयोजनाको निर्माण गर्न अस्थायी रूपमा गठन हुने र काम भएपछि समिति विघटन हुने उल्लेख गरिएको छ । 


परिपत्रमा मन्त्रालयले निर्माण कार्य सम्पन्न भएका आयोजना सञ्चालन तथा मर्मतसम्भारमा जिम्मेवार बनाउन कठिन भई आयव्ययको लेखा परीक्षणसमेत नगराउने भएकाले स्थायी संयन्त्रमार्फत नै काम गर्न÷गराउन स्थानीय तहलाई निर्देशन दिएको छ । 

 

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ मा उपभोक्ता समिति वा लाभग्राही समुदायबाट काम गराउन सक्ने व्यवस्था रहेको मन्त्रालयले परिपत्रमा उल्लेख छ । 

 

‘संस्था दर्ता ऐन २०३४ को दफा ३ अनुसार कुनै पनि संस्था विधानसहित दर्ता नभए कानुनी मान्यता दिन मिल्दैन । यो वर्ष विभिन्न निर्माण कार्य गर्न गठन भएका उपभोक्ता समिति उक्त व्यवस्थाअनुसार दर्ता भएको पाइएन,’ परिपत्रमा भनिएको छ । 

 

उपभोक्ता समितिबाट काम गराउने सम्बन्धमा महालेखापरीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनमा सुझाव दिइएको छ । सोही सुझाव कार्यान्वयन गर्न मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेको हो ।