काठमाडौं– कम्प्युटर एसोसिएसन अफ नेपालले २७औँ संस्करणको रूपमा आउँदो १८ देखि २३ माघसम्म क्यान इन्फोटेक मेला आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने मेलामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति तय गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिनेछन् ।
क्यान इन्फोटेक मेलाको २७औँ संस्करणको आवश्यक तयारी अघि बढाइएको आयोजक क्यान महासंघले जनाएको छ । इन्फोटेकको २७औँ संस्करण गत २८ वैशाखदेखि २ जेठसम्म हुने गरी तयारी गरिए पनि कोभिड–१९ महामारीको दोस्रो लहरका कारण स्थगन भएको थियो ।
सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहनेछ । प्रदर्शनीलाई व्यवसायीले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्नेछन् ।
मेलामा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधि तथा उपकरणको अवलोकन र खरिद गर्न सक्ने महासंघका महासचिव नारायण थापाले बताए । प्रदर्शनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेका लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगबारे जानकारी लिने विशेष थलो हुने आयोजकको विश्वास छ ।
क्यान इन्फोटेक २०२२ मा ब्रान्डिङ, आइसिटी एसेसरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, स्टार्टअप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, ई–बेस्ट म्यानेजमेन्ट, वाईफाई तथा इन्टरनेट र लर्निङ सेन्टरलगायत विभिन्न विधा रहनेछन् । इन्फोटेकमा प्रदर्शनीकर्ताले सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, सोलार पावर सिस्टम, इन्भर्टर, युपिएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एसेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सिसीटिभी र हार्डडिस्क, आइओटी गर्नेछन् ।
त्यस्तै, आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आइटी कलेज, बैंक, बिमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन् । क्यान इन्फोटेकको २६औँ संस्करण करिब साढे ३ तीन लाखले अवलोकन गरेकामा यो संस्करणमा समेत सोही संख्यामा अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ ।
सन् १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेक सुरु गरेकामा सन् २०२० मा इन्फोटेकको २६औँ संस्करण सफलतापूर्वक सम्पन्न भएको थियो । नेपालमा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिक रूपमा आयोजना हुने प्रदर्शनी एवं सम्मेलन मुलुककै ठूलो प्रदर्शनी मानिन्छ । प्रदर्शनीले कोभिड–१९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधिसम्बन्धी व्यवसायी तथा सम्बन्धित पक्षलाई राहत पुग्ने महासंघको विश्वास छ ।