रूपन्देही–रूपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगर बनाउन विभिन्न कार्यक्रम भइरहेका छन् । बालमैत्री घोषणापछि त्यसलाई दिगो बनाउन आवश्यक योजनासमेत निर्माण गरिएको छ ।
तिलोत्तमालाई आउँदो २९ मंसिरमा बालमैत्री नगरपालिका घोषणा गर्ने गरी आवश्यक सूचक पूरा गराउन विभिन्न अभियान भइरहेका हुन् । बालमैत्री स्थानीय शासनका सूचकको अन्तिम अवस्था मापन, स्थितिपत्र तयारी तथा घोषणापछि दिगोपनका लागि सरोकारवालाको सहभागितामा रणनीतिक योजना निर्माण गरिएको हो ।
त्यसक्रममा जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रधानाध्यापक, बाल क्लब, विभिन्न संघ–संस्था, टोल विकास संस्था, सरकारी तथा गैरसरकारी सेवाप्रदायक निकायलगायत सरोकारवालाले दिएका सुझावकको आधारमा रणनीतिक योजना निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यशालामा सबै वडाका प्रतिनिधिले आफ्नो समग्र वडाको हालसम्मको बालमैत्री वातावरण अवस्थाबारे जानकारी गराउनुका साथै दिगोपनका लागि गर्नुपर्ने कामलाई समेटेर योजना प्रस्तुत गरे ।
राष्ट्रिय प्रशिक्षक विष्णुबहादुर चौबेले नगरबासीको सामूहिक पहलले तिलोत्तमा बालमैत्री नगर घोषणा हुन लागेको बताए । नगरप्रमुख वासुदेव घिमिरेले बालमैत्री नगर बनाउने अभियानमा सबै मिलेर जुट्न आग्रह गर्दै यसको दिगोपनका लागि प्रतिबद्ध हुनुपर्ने उल्लेख गरे ।
तिलोत्तममा बालमैत्री नगर घोषणाका आवश्यक सूचक पूरा गर्न टोल– टोलमा विभिन्न कार्यक्रम भइरहेका छन् । बाल अधिकारको सन्दर्भमा सचेतना बढाउन छलफल, अन्रक्रिया, ¥याली, सडक नाटक, पर्चा पम्प्लेट तथा ब्यानर टांग्नेलगायत काम भएका छन् ।
बालमैत्री स्थानीय शासन; बाल अधिकारसम्बन्धी समग्र पक्ष अर्थात् बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको प्रवद्र्धन गरी नेपालको संविधानबमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारणा हो ।
यो अवधारणाले बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सवाललाई स्थानीय तहको नीति, योजना, संरचना, प्रणाली र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धतिलाई जनाउँछ । रूपन्देहीका १६ स्थानीय तहमध्ये तिलोत्तमा पहिलो बालमैत्री नगर घोषणा हुन लागेको हो ।