close

धनकुटाका चार पालिकामा आधारभूत अस्पताल शिलान्यास : अझै लागेन निर्माणको टुंगो

धनकुटाका चार पालिकामा आधारभूत अस्पताल शिलान्यास : अझै लागेन निर्माणको टुंगो

Trulli
ADVERTISEMENT

धनकुटा– सरकारले सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले एकैसाथ मुलुकभर अस्पतालको शिलान्यास गरेको एक वर्ष पूरा भएको छ । तर, शिलान्यास गरेको एक वर्ष बितिसक्दा पनि धनकुटाका चार पालिकामा निर्माण नै थालिएको छैन ।


संघीय र स्थानीय सरकारले निर्माण गर्ने गरी देशभर ३९६ आधारभूत स्वास्थ्य अस्पतालको एकसाथ शिलान्यास गरेको थियो । प्रदेश १ मा ८६ मध्ये धनकुटामा ४ वटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास गरिएको थियो ।

 

धनकुटाको महालक्ष्मी नगरपालिका, पाख्रीबास नगरपालिका, छथरजोरपाटी गाउँपालिका र शहीदभूमि गाउँपालिकामा ५ देखि १५ शय्यासम्मका आधारभूत स्वास्थ्य अस्पताल बनाउन शिलान्यास गरिए पनि निर्माण अलपत्र अवस्थामा छ ।


आधारभूत स्वास्थ्य अधिकार सम्बोधन हुने गरी दुर्गम भेगका नागरिकलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले संघीय सरकारले आधारभूत स्वास्थ्य अस्पतालको शिलान्यास गरे पनि निर्माणमा ढिलाइ हुँदा सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । 


देशैभर स्वास्थ्य सेवाको पहुँच नभएका पालिकामा आधारभूत अस्पताल निर्माण गर्ने घोषणाअनुरूप शिलान्यास गरिए पनि बल्ल टेन्डर प्रक्रिया सुरु भएका छन् भने कतै बजेट नआएकाले प्रक्रिया नबढेको बताउँछन् । 


शिलान्यास गरिएका ठाउँ चरन क्षेत्रमा परिणत भएका छन् भने खनिएको खाडल घाँसले पुरिएका छन् । गाउँपालिकाले जग्गा व्यवस्था गरी ठेक्का आह्वान गरेर स्वीकृत भई करिब साढे ४ करोड रुपैयाँको लागतमा निर्माण सुरु भएको छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले बताए ।


स्थानीय तहको केही प्रतिशत, प्रदेशले केही प्रतिशत र बाँकी संघीय सरकारले बजेट छुट्याउनुपर्ने भएकाले काम हुन ढिलाइ भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले जानकारी दिए । हरेक स्थानीय तहले ५ शय्याको कोभिड अस्पताल सञ्चालन गरिरहेको र त्यसैलाई स्तरोन्नति गरेर १५ शय्याको बनाइने उनको भनाइ छ ।