close

वैदेशिक व्यापार ६५ प्रतिशतले बढ्यो 

वैदेशिक व्यापार ६५ प्रतिशतले बढ्यो 

Trulli
ADVERTISEMENT

काठमाडौं–चालू आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले बढेको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष सुरुको चौमासिकमा ४ खर्ब ४२ अर्ब ६९ करोड २ लाख ४२ हजार रहेको मुलुुकको वैदेशिक व्यापार चालू आवको सोही अवधिमा ७ खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख ७ हजार रुपैयाँ पुगेको हो ।

 

भन्सार विभागको तथ्यांकअनुसार गत आवको तुलनामा आयात ६१ दशमलव ५७ प्रतिशतले बढेको छ । गत आवको पहिलो ४ महिनामा ४ खर्ब २ अर्ब ४९ करोड १ लाख ७८ हजार मूल्य बराबरको आयात भएकामा चालू आवको कात्तिक मसान्तसम्म ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख १३ हजार रुपैयाँ पुगेको छ । 
गत आवको पहिलो चौमासिकका तुलनामा चालू आवको निर्यात १०४ दशमलव २९ प्रतिशतले बढेको छ । गत आवको पहिलो चौमासिकमा ४० अर्ब २ करोड ६४ हजारको निर्यात भएकामा चालू आवको समीक्षा अवधिमा ८२ अर्ब १२ करोड ४२ लाख ९५ हजार रुपैयाँको निर्यात भएको छ । 


विभागका अनुसार चालू आवको कात्तिकसम्म व्यापार वृद्धि भए पनि मुलुकको व्यापार घाटा ५६ दशमलव ८३ प्रतिशतले बढेर ५ खर्ब ६८ अर्ब १७ करोड १८ हजार पुगेको छ । गत आवको पहिलो चार महिनामा व्यापार घाटा ३ खर्ब ६२ अर्ब २९ करोड १ लाख १३ हजार रुपैयाँ थियो । गत आवको पहिलो चौमासिकसम्म कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ९२ प्रतिशत रहेकामा यस्तो हिस्सा २ दशमलव ३४ प्रतिशतले घटेर चालू आवमा ८८ दशमलव ७९ प्रतिशतमा आएको छ । 


वैदेशिक व्यापारमा निर्यातको हिस्सा २३ दशमलव ४८ प्रतिशतले बढेको छ । गत आवको कात्तिक मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९ दशमलव शून्य ८ रहेकामा चालू आवमा ११ दशमलव २१ प्रतिशत पुगेको छ । चार महिने अवधिमा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियममध्ये सबैभन्दा बढी डिजेल आयात भएको विभागले जनाएको छ । 

 

चालू आवको पहिलो चार महिनामा ३४ अर्ब ३३ करोड २१ लाख ९७ हजार बराबरको डिजेल आयात भएको छ । त्यस्तै, आयातमा भटमासको कच्चा तेल दोस्रोमा रहेको छ ।  नेपालमा व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुुनःनिर्यात गर्दै आएका छन् । चालू आवको पहिलो चार महिनामा करिब १७ करोड लिटरभन्दा बढी भटमासको तेल २७ अर्ब २२ करोड ७१ लाख ९५ हजार मूल्य बराबरको आयात भएकोे छ ।


त्यस्तै, टेलिफोन २० अर्ब ३५ करोड ८६ लाख १६ हजार, पाम आयल १९ अर्ब १७ करोड ५७ लाख २८ हजार र पेट्रोल १८ अर्ब ६६ करोड ६५ लाख ९४ हजार रुपैयाँको आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै छ । विभागको तथ्यांकअनुसार स्वदेशबाट २६ अर्ब ४० करोड ११ लाख १ हजार मूल्य बराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्ने गरेकाले वैदेशिक व्यापारमा भटमासको तेलले योगदान गरेको हो ।


सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि हो । विवरणअनुसार चालू आवको पहिलो चार महिनामा १९ अर्ब २ करोड ३० लाख ९० हजार रुपैयाँ बराबरको पाम तेल निर्यात भएको छ । ३ अर्ब ९३ लाख १७ हजार बराबरकोे गलैँचा तथा २ अर्ब ३१ करोड ५५ लाख ७८ हजार मूल्य बराबरको जुट तथा अन्य कपडा निर्यात भएको विभागको तथ्यांक छ ।

 

सबैभन्दा धेरै वीरगन्ज नाकाबाट २ खर्ब २३ अर्ब ९० करोड ५० लाख ७४ हजार मूल्य बराबरको आयात तथा भैरहवा नाकाबाट १ खर्ब ६ अर्ब ४८ करोड ८३ लाख ३० हजार र त्रिभुवन विमानस्थल नाकाबाट ८१ अर्ब ७० करोड ९१ लाख ५६ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । नेपालले निर्यातमा वीरगन्ज भन्सारबाट ३९ अर्ब ५६ करोड ३४ लाख ५० हजार, विराटनगर भन्सारबाट २२ अर्ब ५१ करोड ४७ लाख ५२ हजार तथा त्रिभुवन विमानस्थल नाकाबाट ११ अर्ब ७५ करोड ४१ लाख ३५ हजार बराबरको वस्तु विदेश निर्यात गरेको छ ।