देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) रूपन्देहीको तिलोत्तमा, देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकासँगै ओमसतिया र रोहिणी गाउँपालिकाका १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन थालियो, ९० हजारलाई खोप लगाउने लक्ष्य ।
२) ३४ औँ विश्व एड्स दिवसको अवसरमा पालिकाद्वारा विभिन्न कार्यक्रम आयोजना, नेपालमा संक्रमणदर ६३ प्रतिशतले घट्यो ।
३) तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर ५ स्थित च्याचुल गाउँमा पुग्यो खानेपानी सुविधा, वर्षौदेखि खोला र कुवाको खानेपानी उपयोग गर्दै आएका स्थानीय दंग ।
४) दाङको घोराही उपमहानगरपालिकाद्वारा चालू आर्थिक वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न, कार्यक्रममा स्थानीयले राखे गुनासा नै गुनासो ।
५) मकवानपुरको मकवानपुरगढी गाउँपालिकाद्वारा कृषि विकास कार्यक्रमका लागि कृषि समूह, सहकारी, फार्म लगायतलाई प्रस्ताव पठाउन सूचना जारी, १५ पुषसम्म प्रस्ताव पठाई सक्नुपर्ने ।
६) गोरखा नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि समूह र फार्मलाई मिनिटिलर वितरण गर्ने, ईच्छुकले १८ मंसिरभित्र कृषि शाखामा निवेदन दिनुपर्ने ।
७) सरकारले वृद्धि गरेको तलब माग गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत बालविकास शिक्षक र कर्मचारी आन्दोलित, शिक्षा शाखामा तालाबन्दी, कामकाज ठप्प ।
८) कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ निकै संक्रामक रहेकोले सुरक्षित रहन माेरङकाे विराटनगर महानगरपालिकाद्वारा सूचना जारी, विद्यालयमा विद्यार्थीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्न आग्रह ।
९) सर्लाहीको पर्सा गाउँपालिकामा १६ वर्षीया किशोरी अञ्जली कुमारी साह बनिन् एक दिने गाउँपालिका अध्यक्ष, शिक्षा क्षेत्रमा भएको समस्याको निराकरण गर्न दिइन् आदेश ।
१०) म्याग्दीको रघुगंगा गाउँपालिकाको बेगमा भएको बोलेरो जिप दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाका परिवारलाई पालिकाले आर्थिक सहयोग गर्ने, प्रतिमृतकलाई ५० हजार र घाइतेलाई एक लाख रुपैयाँसम्म सहयोग गर्ने निर्णय ।
११) रोल्पाको त्रिवेणी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा मार्यो फड्को, सामान्य स्वास्थ्य उपचारका लागि समेत जिल्लाबाहिर जानुपर्ने बाध्यता हट्यो, चिकित्सकसहित उपचार पाउँदा नागरिक दंग ।
१२) खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ मङ्गलटारका प्रत्येक टोलमा विद्युतीय कुटानीपिसानी मिल वितरण, स्थानीयलाई सहज ।
१३) कीर्तिपुर नगरपालिकाद्वारा नगरका युवालाई सांगीतिक क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले कीर्तिपुर सिंगिङ आइडल-११४२ को आयोजना, प्रथम हुनेले ५० हजार रुपैयाँ पाउने ।
१४) बहुउद्देश्यीय फलफूल नर्सरी स्थापना गर्ने स्याङजाको वालिङ नगरपालिकाको तयारी, ७ लाख ५० हजार अनुदान रकम उपलब्ध गराइने भन्दै प्रस्ताव आह्वान ।
१५) र, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा सामुदायिक विद्यालय र स्वास्थ्य चौकीमा स्यानेटरी प्याड वितरण ।