काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका सार्वजनिक सरकारी कार्यालयमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने परियोजना सम्पन्न हुने चरणमा पुगेको बताएको छ । प्राधिकरणले ५ अर्ब ६७ करोड रुपैयाँ लगानीमा देशभरका स्थानीय तहका कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट जडान गर्ने गरी उक्त परियोजना अगाडि बढाएको थियो ।
देशभर कुल १५ हजार ९८२ वटा तोकिएका सार्वजनिक निकायमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यमध्ये कात्तिकसम्म १५ हजार ३४९ निकायमा जडान भइसकेको प्राधिकरणले जनाएको छ । परियोजनाको ९६ प्रतिशत काम सम्पन्न भइसकेको हो ।
कुल १८ वटा प्याकेज बनाएर देशभर जडानको काम सुरु गरिएको यो परियोजनाअन्तर्गत कात्तिकसम्म ६७६ स्थानीय निकायको कार्यालयमा काम सम्पन्न भइसकेको छ । परियोजनाअन्तर्गत ७०२ यस्ता कार्यालयमा इन्टरनेट जडान गर्ने सम्झौता भएको थियो ।
अब २६ वटा स्थानीय कार्यालयमा मात्र इन्टरनेट जडान गर्न बाँकी छ । त्यस्तै कुल ५ हजार ९३३ वडा कार्यालयमा सम्झौता भएकामा ५ हजार ३ वटा कार्यालयमा जडान भइसकेको छ । ४ हजार १२२ वटा स्वास्थ्य संस्थामा जडान गर्ने सम्झौता भएकामा ४ हजार १७ वटा संस्थामा काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।
परियोजनाअन्तर्गतका १६ वटा प्याकेजमध्ये ६५ जिल्लामा तोकिएबमोजिमका स्थानमा शतप्रतिशत काम सम्पन्न भइसकेको छ । त्यस्तै, एउटा प्याकेजमार्फत पाँच जिल्लाका तोकिएबमोजिमका स्थानमा ५० प्रतिशत बढी काम सम्पन्न भइसकेको प्राधिकरणले बताएको छ ।
सम्पन्न भएकामध्ये हालसम्म ६ वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ । दुई वटा परियोजनाको परामर्शदाताबाट पहिलो चरणअन्तर्गतको अनुगमन र प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ । दुई वटा परियोजनाको दोस्रो चरणअन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम भइरहेको प्राधिकरणले जनाएको छ ।
ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरेर सेवाप्रदायकलाई प्रतिस्पर्धा गराएर उनीहरूमार्फत नै ब्रोडब्यान्ड जडानको काम भइरहेको छ । यसरी जडान गरिएको इन्टरनेट सम्बन्धित संस्थाले दुई वर्षसम्म निःशुल्क उपयोग गर्न पाउनेछन् ।