रूपन्देही–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशका सबै जिल्लामा बिहानैदेखि देखिएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको हो ।
बन्दका कारण लुम्बिनी प्रदेशका रूपन्देही, दाङ, बाँके, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तुलगायत जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
बन्दले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन भएका छैनन् भने बजार, उद्योगधन्दा, कलकारखाना पनि ठप्प छन् । सहरका केही भित्री भागमा पसल फाट्टफुट्ट खुलेका छन् ।
कतिपय जिल्लामा सीमित मात्रामा मोटरसाइकल चलेका छन् । बुटवलमा केही स्थानमा मात्र आन्दोलनकारी देखिएका छन् । मुख्य सडकका धेरै ठाउँमा आन्दोलनकारी छैनन् । ठाउँ–ठाउँमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।
बन्द सफल पार्न सोमबार साँझ लुम्बिनी प्रदेशका जिल्लामा नेकपाका कार्यकर्ताले मसाल जुलुस निकालेका थिए । शिक्षण संस्थाले बन्दका कारण पठनपाठन सञ्चालन गर्न असहज हुने भन्दै सोमबार नै पढाइ नहुने सूचना जारी गरेका छन ।
बन्दका कारण गन्तव्यमा जाने यात्रुले भने सास्ती पाएका छन् । विभिन्न स्थानमा यात्रु गाडी कुरिरहेका छन् । तर, गाडी नपाएपछि उनीहरू अलपत्र छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले बन्दका क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिए ।